धरान: सोमबार दिउँसो करिब ४ बजे धरान उपमहानगरपालिका एक्कासी तनावग्रस्त बन्यो । 

मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघा मात्र होइन, दुवैका समर्थकहरु पनि आमनेसामने भए । मेयर साम्पाङका समर्थक एवं श्रमदाताहरु उपमहानगर घेराउ गर्न पुगेपछि उपमेयर बेघा सम्बद्ध पार्टी नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु पनि उपमहानगर परिसरमा भेला भएका थिए । दुवै पक्ष भेला हुन थालेपछि अप्रिय घटना हुन नदिन प्रहरी तैनाथ भएको थियो । मेयर साम्पाङ र उनका समर्थकहरु बाहिरिएपछि माओवादीका नेता, कार्यकर्ताहरुले हर्क साम्पाङ मुर्दाबादको नारा लगाएर कोणसभासमेत गरे ।

दिउँसो २ बजेको लागि बजेट तथा सिलिङ निर्धारण समितिको बैठक बोलाइएको थियो । उक्त बैठक अघि नै मेयर साम्पाङको कार्यकक्षमा मेयर र उपमेयर बेघाबीच विवाद सृर्जना भएको थियो । बैठक अघि मेयर साम्पाङ, उपमेयर बेघा र प्रमुख प्रशासकीय अधिकृतबीच मेयरको कार्यकक्षमा छलफल भएको थियो । त्यहाँ के बिषयमा छलफल भयो भन्ने प्रष्ट भइसकेको छैन । मेयरको कार्यकक्षबाट उपमेयर बेघा र प्रमुख प्रशासकीय अधिकृत बाहिरिदा मेयरका समर्थक एवं श्रमदाताहरुको बाक्लो उपस्थिति रहेको थियो । त्यसक्रममा मिडियाकर्मीलाई भिडियो खिच्न नदिएको भन्दै होहल्ला मच्चिएको थियो । 

deputy

उपमेयर बेघा बाहिरिएपछि भिडियो खिच्न नदिएको भन्दै श्रमदाताहरुले चर्को आक्रोश पनि पोखेका थिए । मेयर साम्पाङ र उपमेयर बेघाबीच लफडा भएको सुचना पाएपछि धरान वडा नं १० स्थित नारायणपथ ड्रेन निर्माणमा श्रमदान गरिरहेकाहरु उपमहानगरपालिका पुगेका थिए । मेयर साम्पाङ उपमहानगरपालिकाबाट बाहिरिएपछि समर्थकहरु पनि फर्किएका थिए । त्यसपछि उपमहानगरमा माओवादीका नेता, कार्यकर्ता र मिडियाकर्मीहरु मात्र रहेका थिए । 

उपमेयर बेघाले संक्षिप्तरुपमा आफ्नो धारणा राख्दै मेयर साम्पाङले गैरकानुनी एवं अवैधानिकढंगले गरेको कामको अनुगमन नगर्ने बताए । वडा नं १६ मा श्रमदानबाट गरिएको कामको जर्बजस्ती भुक्तानीको लागि दबाब दिएको खुलाउदै उपमेयर बेघाले आफुले अवैधानिक र कानुन विपरीत भएको काममा समर्थन नगर्ने प्रष्ट पारे । ‘पहिला गरिसकेको योजनालाई नगरको इञ्जिनियर प्रयोग गरेर वैधानिक प्रक्रियामा छिराएर पैसा भुक्तानी गर भनेर दबाब दिनुभएको छ,’ उपमेयर बेघाले भने,‘हामीले भन्यौ, पहिला काम भइसकेको छ, नयाँ सच्याएर नगर्नुस्, गैरकानुनी छ, त्यसो गर्न मिल्दैन, म अनुगमन गर्दिन भनेको छुँ । उहाँले जर्बजस्ती गरेर कर्मचारीलाई निर्देशन दिनुभएको छ ।’

deputy mayor1

उपमेयर बेघाले संस्थागत निर्णय गरेको र बजेट किताबमा भएको कामलाई मात्र समर्थन र अनुगमन गर्ने पनि बताए । ‘संस्थागत निर्णय नभएको, बजेटभन्दा बाहिरकोलाई साथ र अनुगमन गर्न सकिदैन भनेको उहाँले जर्बजस्ती गर्नुभयो,’ उपमेयर बेघाले भने । उनले ,‘आज आन्तरिक अफिसियल छलफल थियो । नियमसंगत छ कि छैन, गैरकानुनी हो कि होइन भन्ने कुरामा बहस गर्न सकिन्छ, तर थुप्रै मान्छे बोलाएको देखे, के हामीलाई कुट्न बोलाएको हो ? भनेर पनि सोधेको छुँ ।’

कानुनसम्मत ढंगले बजेटमा भएको कामको अनुगमन गर्ने खुलाउदै नगर प्रमुखले सबैलाई समन्वय गरेर जानुपर्ने बताए । उनले भने,‘धरान उपमहानगरपालिका गुण्डागर्दी शैलीमा, थर्काएर, हप्काएर, पेलेर, ट्रोल बनाएर प्रचार गररेर चलाउँछ भन्ने सोच्नुभएको छ भने गलत हो ।’ 

मेयर-उपमेयरको यो विवादले अन्ततः आगामी आर्थिक बर्षको बजेट नै प्रभावित हुने अवस्था सृर्जना भएको छ । पछिल्लो समय जेठ १६ गतेको भिषण बाढीपहिरोले क्षति पुर्याएको स्थानमा तारजाली तथा ग्याबियन उपलब्ध गराउने बिषयमा मेयर साम्पाङ र उपमेयर बेघाबीच मनमुटाव शुरु भएको थियो । नगरको स्रोतसाधन समन्वय नगरि मेयर साम्पाङ एक्लैले परिचालन गरेको बिषयमा उपमेयर बेघा असन्तुष्ट रहेको उनी निकट व्यक्तिहरुले बताउने गरेका छन् । यही असन्तुष्टी चुलिदै गएर दुवैबीचको विवादले चर्कोरुप लिएको हो । 

उपमेयर बेघाले मेयर साम्पाङको नेतृत्वमा श्रमदानबाट गरेको भनिएको कामको अनुगमन नगर्ने अडान लिएका छन् । यो बिषयमा सामाजिक सञ्जाल फेसबुकमा मेयर साम्पाङले केही दिनदेखि निरन्तर पोष्ट गर्दै आएका छन् भने  विपदको बेला थरिएको कामको भुक्तानी नगरबाट जसरी पनि हुने पत्रकारहरुसँग प्रतिक्रिया पनि दिएका थिए । जनताले श्रमदान गरेपनि तारजालीको व्यवस्थापन उपमहानगरले गर्नुपरेको कारण बजेट निकासा हुनुपर्ने उनको भनाई छ ।

मेयरले आफ्ना आसेपासे ल्याएर अभद्र व्यवहार गरे: माओवादी अध्यक्ष लिम्बु

नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटीका अध्यक्ष उद्धव लिम्बुले मेयर साम्पाङले आफ्ना समर्थकहरु बोलाएर उपमेयरलाई अभद्र व्यवहार गर्न लगाएको आरोप लगाएका छन् ।

udav limbu

सोमबार मेयर साम्पाङविरुद्ध नाराबाजीपछि उपमहानगरपालिकाको मेनगेट अघि आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष लिम्बुले यस्तो बताएका हुन् । उनले भने, ‘बजेट तथा सिलिङ सिमा निर्धारुण समितिको बैठक भनेर जनप्रतिनिधि बोलाएर आफ्नो आसेपासे ल्याएर जुन तरिकाले अभद्र व्यवहार गर्ने हर्कत भयो, यसको हामी घोर भत्र्सना गदैछौं ।’

धरानमा सबै जनप्रतिधिको उत्तिकै दायित्व रहेको भन्दै अध्यक्ष लिम्बुले मेयर, उपमेयर, वडाअध्यक्ष सबै मिलेर नगरपालिका अगाडि बढाउन पनि आग्रह गरे । ‘यदि तपाईले यस्तै हर्कत देखाउने, एकलकाटे प्रवृत्ति देखाउने, अरु जनप्रतिनिधिमाथि आसेपासे बोलाएर अभद्र व्यवहार गर्ने, हातपात गर्नको लागि उत्तजेति गर्नुहुन्छ भने किमार्थ स्वीकार गर्दैनौं,’ उनले भने,‘भोली जनप्रतिनिधिहरुमाथि कुनै किसिमको अभद्र व्यवहार भयो भने हातपात गर्ने हर्कत भयो भने त्यसको जवाफ अत्यन्तै नराम्रो हुन्छ ।’

जनप्रतिनिधिहरु मिलेर नै उपहानगरपालिका चलाउन आग्रह गर्दै लिम्बुले आजकै जस्तो गतिविधि पुनः दोहोरिएमा त्यसको परिणाम नगरप्रमुखले नै लिनुपर्ने पनि बताए । मिलेर अगाडि बढ्नुस्, मिल्नुस्, मिल्न चाहनुहुन्न र यस्तै हर्कत गरेर नगरपालिका चलाउने कोसिस गर्नुहुन्छ भने माओवादी केन्द्र, राजनीतिक दलहरु तपाईहरुको नौटंकी हेरेर रमिता बस्दैनौं,’ उनले भने,‘जुन हर्कत आज भयो, फेरि भयो भने त्यसको परिणामको जिम्मा नगरप्रमुखले लिनुपर्छ ।’

भिडियो: