धरान: स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघा अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्य समस्या देखिएपछि उपमेयर बेघालाई धरान १० स्थित विजयपुर हस्पिटलमा भर्ना गरेर उपचार भइरहेको छ । चिकित्सकको सल्लाह वमाजिम उपमेयर बेघालाई आज र भोली अब्जरभेसनमा राख्नुपर्ने धरान वडा नं ३ का जनप्रतिनिधि (वडा सदस्य) एवं नेकपा माओवादी केन्द्रका कोषाध्यक्ष मिङ्मा भोटेले जानकारी दिए । उनले भने,‘आज र भोली अब्जरभेसनमा राख्नुपर्ने भएको छ । स्वास्थ्य अवस्थामा सुधार आएको छ ।’
उपमेयर बेघा बिहान एक सामाजिक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा टाउको दुख्ने, वाक वाक लाग्ने र सास फेर्न असहज महशुस गरेका थिए । मोटरसाइकल आफै चलाइरहेका उनी निक्कै गाह्रो महशुस गरेपछि एक मेडिकलमा पुगेको बताए । 'गाह्रो महशुस हुदै थियो, तर मोटरसाइकलमा घरसम्म पुग्छु होला भनेर चलाइरहे,' अस्पतालमा उपचारार्थ रहेका उपमेयर बेघाले भने, 'वरगाछी अरुण पेट्रोल पम्प नजिक पुग्दा निक्कै गाह्रो भएपछि मेडिकलमा पसे ।'
उक्त मेडिकलमा अक्सिजनको मात्रा कम देखिएको र प्रेसर पनि लो भएको भन्दै तत्काल अस्पताल रिफर गरेको थियो । त्यहीबाट परिवारजनाई खबर गरेर बेघालाई तत्काल विजयपुर हस्पिटलको इर्मजेन्सीमा पुर्याइएको थियो । अस्पतालमा उपचार शुरु भएपछि बेघाको स्वास्थ्य अवस्थामा सुधार भएको थियो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ । यद्यपी, उनको पिसाबमा इन्फेक्सन देखिएको पनि माओवादी धरानका कोषाध्यक्ष भोटेले जानकारी दिए ।