धरान: आगामी भदौ अन्तिम सातादेखि प्रथम धरान सिटी रनिङ कप धरान अन्तर क्लब नकआउट प्रतियोगिता आयोजना हुने भएको छ।
धरान सिटि फुबटल क्लब प्रालिले बिहिबार धरान १३ स्थित नेपाल पत्रकार महासंघको हलमा पत्रकार सम्मेलन गर्दे प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता भदौ २८ गतेबाट शुरु भएर असोज ४ गतेसम्म सञ्चालन हुने आयोजक प्रालिका अध्यक्ष विवेक राईले जानकारी दिए । उनका अनुसार यो प्रालि धरानमा खेलकुदको विकासको लागि स्थापित संस्था हो ।
प्रतियोगिता धरान १६ स्थित रंगशालामा आयोजना हुने पनि प्रालिले जनाएको छ । नकआउटको आधारमा खेलाइने प्रतियोगितामा आयोजकसहित धरानका ८ वटा क्लबहरुको प्रतिस्पर्धा रहने पनि अध्यक्ष राईले बताए । यद्यपी, कुन कुन क्लबहरु सहभागी हुने भनेर तय भइनसकेको पनि उनले बताए । ‘अब क्लबहरुलाई प्रतियोगिताबारे पत्राचार गछौं,’उनले भने।
प्रतियोगिताको विजेता टोलीले रनिङ कपसहित नगद १ लाख र उपविजेताले नगद ५० हजार पुरस्कार पाउनेछ । यस्तै, म्यान अफ द म्याच, बेष्ट प्लेयर, बेष्ट डिफेन्स, बेष्ट गोलकिपरलगायत व्यक्तिगत विधामा पुरस्कार पनि प्रदान गरिने अध्यक्ष राईले जानकारी दिए । प्रतियोगिताको अनुमानित लागत १२ लाख रहेको पनि उनले बताए ।
सोही पत्रकार सम्मेलनमा प्रतियोगिताको विजेता टोलीले पाउने रनिङ ट्रफी पनि सार्वजनिक गरिएको थियो । उक्त ट्रफी नेवारी सँस्कृति झल्कने गरि कप बनाइएको र उक्त कपमा धरानको चिनारी आधा धरानसँगै फुटबल खेल्दै गरेको तस्बिर पनि कुँदिएको अध्यक्ष राईले बताए ।