धरान: कोशी प्रदेश फुटबल संघले आफ्नो आगामी आर्थिक बर्ष २०८२/०८३ को अनुमानित नीति तथा बजेट सार्वजनिक गरेको छ ।
धरान १७ एन्फा टेक्निकल सेन्टरस्थित संघको कार्यालयमा शनिबार एन्फा रेफ्री कोर्ष क्याटोगरी ४ प्रशिक्षणको उद्घाटन समारोहमा अनुमानित बजेट पनि सार्वजनिक गरिएको थियो । समारोहका प्रमुख अतिथि एवं कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई र आयोजक संघका अध्यक्ष किसोर राईले नीति तथा बजेट कार्यक्रम सार्वजनिक गरेका थिए ।
संघको आगामी बर्षको बजेट कुल ३ करोड ३० लाख ५० हजा बराबरको रहेको छ । संघले सार्वजनिक गरेको कार्यक्रम तथा प्रतियोगितामा प्याब्सन एन्फा विद्यालय प्रतियोगिता, (जिल्ला र प्रदेश), हिसान एन्फा कलेज स्तरीय प्रतियोगिता (जिल्ला र प्रदेश), जिल्ला लिग फुटबल प्रतियोगिता (११ जिल्लाहरुमा ए र बि डिभिजन) अण्डर १५ एन्फा एकेडेमी राष्ट्रिय स्तरीय प्रतियोगिता, अण्डर १९ युथ एन्फा प्रदेश क्लब स्तरीय फुटबल प्रतियोगिता, कोशी प्रदेश प्रिमियर लिग, जिल्ला प्रेसिडेन्ट महिला फुटबल प्रतियोगिता, प्रदेश प्रेसिडेन्ट महिला फुटबल प्रतियोगितालाई समावेश गरिएको छ । यी प्रतियोगिताहरुको लागि कुल २ करोड ६३ लाख बजेट अनुमान गरिएको छ ।
यस्तै, प्रशिक्षण कार्यक्रम तथा सम्मान अभिनन्दनतर्फ विभिन्न कोचिङ लाइसेन्स कोर्ष, रेफ्री प्रशिक्षण कार्यक्रम, फिजियो, म्याचकमिसनर तालिम र सम्मान तथा पुरस्कार कार्यक्रमहरुको लागि कुल ४४ लाख बजेट अनुमान गरिएको छ । यस्तै, प्रशासनिक बार्षिक खर्चतर्फ २३ लाख ५० हजार बजेट अनुमान गरिएको छ ।
प्रदेश सरकारले गौरवको एकेडेमी बनाउन सहयोग गर्नेछ: मन्त्री राई
प्रदेश सरकारका सामाजिक विकास तथा खेलकुद मन्त्री पाँचकर्ण राईले धरानमा सञ्चालनमा रहेको एन्फा एकेडेमीलाई गौरवको एकेडेमी बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् ।
एन्फा रेफ्री कोर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री राईले एकेडेमीले भविष्यका राष्ट्रिय, अन्र्तराष्ट्रिय खेलाडी उत्पादनमा महत्वपुर्ण भुमिका खेल्ने भन्दै यसको व्यवस्थापन, सञ्चालनमा सहयोग गर्न प्रदेश सरकार सकरात्मक रहेको बताए । ‘प्रदेश सरकारले गौरवको एमेडेमी बनाउने कुरामा लाग्नेछ । यहीबाट भविष्यमा मेस्सी, रोनाल्डो, किरण चेम्जोङ, रोहित चन्द जस्ता खेलाडी जन्माउनुपर्छ,’ उनले भने ।
मन्त्री राईले एन्फा एकेडेमीबारे मुख्यमन्त्री हिक्मत कार्की पनि सकरात्मक रहेको खुलाउदै सदैव साथमा रहने बताए । बार्षिकरुपमा प्रदेश सरकारले १४ लाख विनियोजन गरिरहेको र आगामी बर्षहरुमा बजेट थपिदै जाने पनि उनले बताए । एकेडेमी सञ्चालनमा स्थानीय सरकारको पनि बिशेष दायित्व भएकोले सोही वमोजमको भुमिका निर्वाह हुनुपर्ने मन्त्री राईले बताए ।
कोशी प्रदेश फुटबल संघका अध्यक्ष किसोर राईले नेपाली फुटबलको लक्ष्य विश्वको फुटबलमा उभिने भएको र सोही अनुसार कार्यक्रम, गतिविधिहरु भइरहेको बताए । उनले नेपालका रेफ्रीहरुले पनि विश्वकप खेलाउने सपना देख्नुपर्ने बताए । ‘विश्वकप खेल्ने लक्ष्य एउटा पाटो हो, अर्को पाटो नेपालका रेफ्रीहरुले पनि विश्वकप खेलाउने सपना देख्नुपर्छ,’ उनले भने ।
उनले खेलकुदलाई पनि अब उद्योगकोरुपमा विकास गरेर जानुपर्ने बताए । कार्यक्रममा कोशी प्रदेशका संस्थापक सभामुख प्रदिप भण्डारी र धरानका पुर्वउपमेयर मिनकुमार सुब्बाले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
भिडियो: