धरान: महिलाहरुको व्यक्तित्व विकास एवं सशक्तीकरणको लागि मिस एण्ड मिसेस ग्रेस पूर्वाञ्चल २०२५ को तयारी गरिएको छ ।
यो प्रतियोगिताको पहिलो अडिसन साउन १७ गते शनिबार बुद्धचोकस्थित लुलु लाउञ्जमा हुने तयारी गरिएको आयोजक ग्रेस इभेन्ट्सले जनाएको छ । पूर्वी नेपालका युवती तथा महिलाहरूको नेतृत्व क्षमता, आत्मविश्वास र व्यक्तित्व विकास गर्ने अवसर हुने आयोजकको दाबी छ ।
उक्त प्रतियोगितामा उचाइ, तौल वा शैक्षिक योग्यताको कुनै पनि मापदण्ड नराखी महिलाहरूलाई अवसर प्रदान गर्ने ग्रेस इभेन्ट्सका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत सुरज थापाले बताए । उनका अनुसार दर्ता र अडिसन निःशुल्क हुनेछ । “यो सौन्दर्य प्रतियोगिताले अवसर नपाएका तर प्रतिभाशाली महिलाहरूको प्रतिभा उजागर गर्न सहयोग पुर्याउनेछ,” उनले भने । दोस्रो अडिसन साउन २४ गते धरान १० स्थित श्रृङ्गार पार्लर पुतली लाईनमा हुने पनि उनले खुलाए ।
मिस श्रेणीमा सहभागी हुन उमेर १६ देखि २४ बर्ष हुनुपर्नेछ भने मिसेस श्रेणीमा उमेर २० बर्ष माथि (विवाहित, सम्बन्धविच्छेद भएका, अलग बसेका वा एकल आमाहरू) ले सहभागी हुन पाउने आयोजले जनाएको छ । मिस तर्फका विजेताले २५ हजार, फस्ट रनरअपले १५ हजार र सेकेण्ड रनरअपले १० हजार नगद पुरस्कारसहित विभिन्न उपहारहरु पाउनेछन् ।
यस्तै, मिसेसतर्फका विजेताले नगद ५० हजार, फस्ट रनरअपले २५ हजार र सेकेण्ड रनरअपले १५ हजार नगद पुरस्कारसहित विभिन्न उपहारहरु पाउनेछन् । आयोजकको रोजाइ पुरस्कार १० हजार पनि रहेको छ ।
छनौट भएकाहरुलाई एक महिनाभन्दा बढी समय विभिन्न बिषयमा प्रशिक्षणहरु दिइनेछ भने सामाजिक सेवा, सम्पदा क्षेत्रको भ्रमण, माइती नेपाल इटहरी भ्रमण, आँखा तथा दन्त स्वास्थ्य परीक्षण पनि गराइने आयोजकले जानकारी दिएको छ ।