धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरानको खानेपानीको दीर्घकालिन समाधानको लागि धरान–लेउती सुरुङ मार्गको अध्ययन गराउने बताएका छन् ।
सुनसरी उद्योग वाणिज्य संघको नवनिवार्चित पदाधिकारीहरुको पदस्थापन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दे मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले उक्त सुरुङ मार्गबाट तमोरको पानी पनि धरानमा ल्याउन सकिने प्रारम्भिक बुझाई रहेकोले त्यसको अध्ययन गराउन बजेट विनियोजन पनि गरिएको बताए । ‘यसपाली बजेटमा धरान लेउती सुरुङ मार्गको अध्ययन गर्ने भनेका छौं,’ उनले भने,‘नेपाल सरकारको भौतिक मन्त्रालयमा पनि समन्वय गरिरहेका छौं ।’
मुख्यमन्त्री कार्कीले सुरुङ मार्ग सफल भएमा धरानको खानेपानी समस्या दीर्घकालिनरुपमा समाधान गर्न सकिन्छ भन्ने विश्वास रहेको र यसको लागि निरन्तर प्रयास जारी रहने पनि बताए । उनले तत्कालको लागि खानेपानी समस्या हल गर्न प्रदेश सरकारले डिपबोरिङ गरेर काम सम्पन्न गरिसकेको र दशैं अगाडि उक्त आयोजना हस्तान्तरण गर्ने तयारी रहेको पनि खुलाए ।
मुख्यमन्त्री कार्कीले कोशी राजमार्गकोरुपमा रहेको जोगवनी–किमाथांका सडकको गेट वेरुपमा धरान रहेको भएपनि जंगलमा आएर सडक टुंगिएको भन्दै चिन्ता प्रकट गरे । उनले सडक वा एलाइनमेन्ट कताबाट जान्छ भन्ने टुंगो नभएको भन्दै धरानको नेतृत्व, उद्योगी व्यापारी, लब्धप्रतिष्ठित सबैले एक मत बनाउन आवश्यक भएको पनि बताए ।
उनले धरान धार्मिक, साँस्कृतिक केन्द्रकोरुपमा र कोशी पहाडी जिल्लाको प्रवेशद्धार पनि भएकोले धरानले दिने सन्देशले समग्र कोशी प्रदेशलाई नै प्रभाव पार्ने उनले बताए । ‘धरानले कस्तो सन्देश दिन्छ, सिंगो कोशी प्रदेशलाई यसले प्रभाव पार्छ,’ उनले भने । कार्यक्रममा निर्वाचन समितिका संयोजक डा.राजेन्द्र शर्माले संघका नवनिवार्चित अध्यक्ष गोपाल श्रेष्ठसहित पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए । साथै, निवार्चित भएको प्रमाणपत्र मुख्यमन्त्री कार्कीले वितरण गरेका थिए ।
भिडियो: