२०८२ साल भाद्र १० गतेको बिहान, नेपाली समाजको असंख्य महिला–पुरुषका मनमा एक अदृश्य तर गहिरो भावनात्मक तरंग उठ्नेछ। व्रत, भक्ति र सांस्कृतिक स्मृतिको सुगन्धले वातावरण भरिनेछ । यो दिन हो । हरितालिका तीज-धैर्यता, आस्था, प्रेम र दाम्पत्य बन्धनको पवित्र घोषणापत्र । यो पर्वको आत्मा केवल धार्मिक अनुष्ठानमा सीमित छैन—यो स्त्रीशक्तिको साहश, परिवारको आत्मीयता र नेपाली सांस्कृतिक पहिचानको जगेर्ना हो ।
१ पौराणिक उत्पत्ति, अर्थ र व्रतकथा:
पौराणिक आख्यानअनुसार, हिमालयराजकी सुपुत्री पार्वतीलाई पिताले भगवान विष्णुसँग विवाह गराउने निर्णय गरे । तर पार्वतीको मनमा त केवल महादेव शिवमात्र बसेका थिए । विवाहको प्रस्ताव अस्वीकार गर्दै उनले आफ्ना सखीहरूसँग वनतर्फ प्रस्थान गरिन्, जहाँ उनले गहिरो ध्यान र कठिन तपस्या आरम्भ गरिन् ।
तीन दिनसम्मको निर्जला साधनापछि भगवान शिव स्वयं प्रकट भई पार्वतीलाई वरदानी श्रीमतीको रूपमा स्वीकार गरे । यही प्रसङ्गबाट ‘हरितालिका’ नामको व्रत प्रचलनमा आयो—‘हरिताल’ अर्थात् सखीहरूले पार्वतीलाई अपहरण (हरण) गरी लुकाउनु र ‘लिका’ अर्थात् लुकाइएको स्थान ।
व्रतकथा संस्कृत श्लोकसहितः
“गौरीव्रतं हरितालिकाख्यमिदं स्त्रैणं श्रेयस्करं पुण्यं सौभाग्यफलदायकम् । पतिं लब्ध्वा हरिं भूयात्सकलान् भोगान् समश्नुते ॥”
अर्थः गौरीको व्रत, जसलाई हरितालिका भनिन्छ, महिलाहरूका लागि कल्याणकारी र पुण्यदायी छ । यस व्रतको फलस्वरूप सौभाग्य प्राप्त हुन्छ, मनले चाहेको पति प्राप्त हुन्छ र जीवनका सम्पूर्ण सुखहरू उपभोग गर्न पाइन्छ ।
मुख्य मन्त्रहरूः
ॐ हरितालिकायै नमः। (हरितालिका देवीलाई नमस्कार।)
ॐ गौरीशङ्कराय नमः। (गौरी र शङ्करलाई नमस्कार)
ॐ नमः शिवाय। (भगवान शिवलाई नमस्कार)
व्रत संकल्प श्लोकः
“ममाखिलपापक्षयपूर्वकं आयुरारोग्यैश्वर्याभिवृद्ध्यर्थं गृहे सौभाग्यसमृद्ध्यर्थं च हरितालिका व्रतमहं करिष्ये ।”
अर्थः मेरो सम्पूर्ण पापको क्षय होस्, आयु, आरोग्य र ऐश्वर्य वृद्धी होस्, घरमा सौभाग्य र समृद्धि कायम रहोस् भन्ने हेतुले म हरितालिका व्रत गर्नेछु ।
२ पूजा विधि, सांस्कृतिक रङ र ऐतिहासिक तिथिसूचकः
हरितालिका तीजको बिहान महिलाहरू स्नान गरी रातो, हरियो वा सुन्तले रङको पोशाकमा सजिन्छन् । शिव–पार्वतीको मूर्तिलाई अक्षता, अबिर, चन्दन, बेलपत्र, धतुरो, फूल, दुध, दही, मह, गङ्गाजल र मिठाई अर्पण गर्दै पूजा शुरु हुन्छ।
पूजा विधिः
- गणेशपूजा
- कलशस्थापना
- शिव–पार्वतीको आह्वान
- अर्घ अर्पण
- व्रतकथा वाचन
- मन्त्रोच्चारण
- व्रत समापनमा जल वा फल ग्रहण
ऐतिहासिक–धार्मिक तिथिसूचक सारणी कालखण्डरतिथि विवरणः
देवी पार्वतीले भगवान शिवलाई प्राप्त गर्न हरितालिका व्रत शुरु गरेको स्कन्दपुराणमा उल्लेख ।
लिच्छवि काल (ई. ४ओैँ–९औँ शताब्दी ) तीज राजदरबार र मठ–मन्दिरमा विशेष पूजा–अनुष्ठानका साथ मनाइने प्रमाण ।
मध्यकाल (१०औँ–१८औँ शताब्दी) उपत्यका र पहाडी क्षेत्रमा तीजलाई महिला मिलन–महोत्सवको रूपमा विकास गरिएको प्रमाण ।
आधुनिक काल (१९ औँ शताब्दीदेखि) तीज नेपालमा मात्र नभई भारतको हिमालय क्षेत्र, भूटान र नेपाली प्रवासी समुदायमा पनि मनाइने परम्परा ।
३ सामाजिक, आर्थिक र मौलिकताको संरक्षण:
तीज केवल धार्मिक पर्व मात्र होइन—यो दिदी–बहिनी र माइतीघरबीचको आत्मीयता पुनः स्थापित गर्ने अमूल्य अवशर हो । विवाहित छोरीहरू माइती फर्केर दर खाने, तीज गीत गाउने, नाच्ने र सामूहिक भजन–कीर्तनमा सहभागी हुने गर्छन् ।
आर्थिक कारोवारमा योगदानस् कपडा, गहना, श्रृंगार सामग्री, मिठाई, फलफूल, पूजा सामग्रीको खरिद–बिक्रीले स्थानीय बजारमा चहलपहल बढाउँने गर्दछ । महिला समूह र संघ–संस्थाले आयोजना गर्ने सांस्कृतिक कार्यक्रमले पर्यटन र स्थानीय अर्थतन्त्रमा सहयोग पुर्याउँछ ।
तर, आधुनिकताको नाममा केही विकृतिहरू पनि देखिन थालेका छन्—पर्वलाई केवल मनोरञ्जनमुखी बनाउने, धार्मिक गहिराईलाई ओझेल पार्ने प्रवृत्ति । यस्तो विकृति हटाई मौलिक स्वरूपमै यस पर्वलाई जोगाउनु हाम्रो साझा दायित्व हो ।
अन्तिम आशीर्वचन:
यस दिन बिहान महिलाहरूले “ॐ नमः शिवाय” उच्चारण गर्दै शिव–पार्वतीलाई अर्घ अर्पण गर्नेछन्, त्यो केवल पूजा मात्र होइन( यो पौराणिक स्मृतिको पुनरावृत्ति, स्त्रीशक्तिको सम्मान र नेपाली सांस्कृतिक पहिचानको बलियो घोषणा हुनेछ ।
यसै अवशरमा, स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हरितालिका तीजको हार्दिक शुभकामना । मौलिकता जोगाऔँ, आस्थालाई बलियो बनाऔँ र आफ्नो संस्कृति गौरवपूर्वक सन्तानलाई हस्तान्तरण गरौं—अस्तु।