धरान: धरानको वडा नं ११ र २० को सिमाना भएर बग्ने सर्दु खोलामा एक युवाको शव भेटिएको छ ।
खोलाले बगाएर ल्याएको अवस्थामा भेटिएको शवको पहिचान खुल्न सकेको छैन । करिब ३०, ३५ बर्ष उमेर देखिने युवाको शरीरको माथिल्लो भाग मात्र कपडा थियो ।
आज बिहान वडा नं ११ वानडाँडाका स्थानीयले शव देखेपछि जनप्रतिनिधिहरुलाई खबर गरेका थिए । शव बगाएर ल्याएको अवस्थामा भेटिएको र प्रहरीले मुचुल्का गरेर मर्चरीमा लगेको वडा नं ११ का अध्यक्ष लोकेन्द्र फागोले बताए ।
उनका अनुसार शव कस्को हो भनेर खुल्न सकेको छैन । वडा नं २० (पश्चिम) तर्फको खोला किनारमा शव भेटिए पनि त्यता मानव बस्ती छैन । ठिक पुर्वतर्फ वडा नं ११ पर्छ, त्यहाँ मानव वस्ती रहेको छ । ‘मलाई पनि यता वडा ११ को स्थानीयले फोन गरेपछि थाह पाए । खोलाले बगाएर ल्याएको देखिन्छ,’ उनले भने ।
शवको मुचुल्का गर्न सशस्त्र र जनपद प्रहरी पुगेको थियो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले मृतकको मुचुल्का गरेर पोष्टमार्टमको लागि लगेको बताए । उनले भने, ‘पहिचान केही खुलेको छैन ।’