धरान: निर्वाचन सम्पन्न भएको करिब पाँच महिनापछि सुनसरी उद्योग वाणिज्य संघ धरानको पदाधिकारी चयनले पुर्णता पाएको छ । 

संघले बिशेष साधारणसभा गरेर आफ्नो विधान संशोधन गरेपछि आज (सोमबार) बसेको बैठकले बाँकी रहेको पदमा पदाधिकारीहरु चयन गरेको हो । संघका अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले वरिष्ठ उपाध्यक्षमा महेन्द्र प्रधान चयन गरेको छ । संघको बिशेष साधारणसभाले बरिष्ठ उपाध्यक्ष पद व्यवस्था गरेको हो ।

यसैगरि, बैठकले प्रथम उपाध्यक्षमा रामस्वरुप शर्मा, द्वितीय उपाध्यक्षमा किसन मास्के र तृतीय उपाध्यक्षमा राजेश अग्रवाललाई चयन गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । यस्तै, उद्योग सचिवमा नारायण लिम्बु, वाणिज्य सचिवमा नविन राजभण्डारी, प्रचार तथा संगठन सचिवमा विष्णु बराल, सचिव (महिला)मा वर्षा अग्रवाल र सह–कोषाध्यक्ष राजु साह चयन भएका छन् । संघको महासचिवमा प्रभाव खतिवडा र कोषाध्यक्षमा शैलेसकुमार आचार्य (प्रमोद) यसअघि कार्यसमितिको प्रथम बैठकबाटै चयन भईसकेका थिए । 

Gopal Shrestha

संघको गत असार ३० गते भएको निर्वाचनबाट अध्यक्षमा गोपाल श्रेष्ठसहित कार्यसमिति सदस्यहरु निवार्चित भएका थिए । कार्यसमितिले विधान संशोधन गर्ने निर्णय गर्दै समिति गठन गरेर मंसिर १ गते विशेष साधारणसभा आह्वान गरेर विधान संशोधन गरेको थियो । ‘समय सापेक्ष विधान संशोधन गर्नुपर्ने आवश्यकता महशुस भएकोले मेरो पहिलो कार्य नै विधान संशोधन गर्नु थियो, र सबैको सहयोगबाट विधान संशोधन सफल भयो,’अध्यक्ष श्रेष्ठले भने,‘विधान संशोधन गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विधान संशोधन समितिका संयोजक, सदस्य र सल्लाहकारहरु प्रति आभार व्यक्त गर्छु ।’

विधान संशोधन पछि सदस्य मनोनित

विधान संशोधन भएपछि भएको व्यवस्था अनुसार कार्यसमिति बैठकले नयाँ सदस्यहरु पनि मनोनित गरेको छ । मनोनित सदस्यहरुमा उद्योग सदस्य (महिला) मा सबिता चाम्लिङ्ग राई, वाणिज्य संदस्य (महिला) ज्ञानशोभा शाक्य, ठूला उद्योग सदस्य सञ्जय अटल र वस्तुगत सदस्यतर्फ प्रदीप गहतराज रहेका छन् । 

यसैगरि, काजी गिरी, सन्दीप शाक्य, रमा चौहान, मनिष खड्गी र सन्तोष वि.क. पनि मनोनित भएका छन् भने विज्ञ सदस्यकोरुपमा शुभेच्छा अधिकारी र प्रकाश जैन डाँगालाई संघले मनोनित गरेको जनाएको छ ।