धरान: धरान जेसिज बर्ष २०२५ का अध्यक्ष विदुर थापाले नेपाल जेसिज २०२६ को राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन् ।
यही पुष ४ देखि ७ गतेसम्म जनकपुरमा हुन लागेको महाधिवेशनमा थापाले राष्ट्रिय उपाध्यक्षमा उम्मेद्वारी दिने भएका हुन् । उक्त महाधिवेशनको लागि थापासहितको टोली आज (बुधबार) त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।
धरान जेसिज बर्ष २०२५ का अध्यक्षकोरुपमा थापाले महत्वपुर्ण कार्यहरु गरेका छन् । यो बर्ष ५० औं बार्षिकोत्सव (स्वर्ण महोत्सव) मनाउने क्रममा थापाको कार्यकालमा धरान ३ स्थित ऐतिहासिक चन्द्रपुर बजारमा जेसिजले डबली निर्माण गरेर समुदायलाई हस्तान्तरण पनि गरिसकेको छ । नेपाली परम्परा र सँस्कृतिको धरोहरकोरुपमा रहेको डबली निक्कै आकर्षक बनेको छ ।
यस्तै, प्रशिक्षक प्रशिक्षक तालिम जस्ता महत्वपुर्ण तालिम एवं कार्यक्रम पनि थापाको कार्यकालमा भएको छ । ‘धरान जेसिजलाई अब्बल सामाजिक संस्थाकोरुपमा चिनाउने काम उहाँको कार्यकालमा भएको छ,’ नेपाल जेसिजका पुर्वराष्ट्रिय उपाध्यक्ष विष्णु वरालले भने,‘त्यसैले उहाँ विदुर थापा बर्ष २०२६ को लागि राष्ट्रिय उपाध्यक्षको स्वाभाविक हकदार हुनुहुन्छ ।’
थापा सफल युवा व्यवसायीकोरुपमा पनि परिचित छन् । जेसिज युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने संस्था भएकोले शाखाको नेतृत्व गर्दा प्राप्त गरेको ज्ञानलाई अभियानकोरुपमा अघि बढाउन चाहेको थापाले बताए । ‘जेसिज युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने संस्था हो । शाखामा मैले पाएको ज्ञानलाई र अवसरको क्षेत्रहरुलाई उन्नयन गर्न, अभिवृद्धि गर्नको लागि पनि यो उम्मेद्वारी हो,’ उनले भने ।







