धरान: नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुनसरीको छैटौं जिल्ला अधिवेशन यही पुष ११ र १२ गते धरानमा हुने भएको छ ।

धरान १४ स्थित निर्माणाधिन आदिवासी जनजाति बहुजातीय संग्रहालयमा जिल्ला समन्वय परिषदले आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै अधिवेशनले आगामी तीन बर्षको लागि नयाँ नेतृत्व चयन गर्ने जानकारी दिएको छ । अध्यक्ष राम माण्डुपा राईका अनुसार अधिवेशनको उद्घाटन समारोहअघि भानुचोकबाट साँस्कृतिक झाँकीसहित वृहत र्याली संग्रहालयमा आउनेछ । उद्घाटन समारोहमा केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पा प्रमुख अतिथि रहनेछन् भने महासचिवसहितका अन्य पदाधिकारीहरु पनि अतिथिकोरुपमा आउने राईले जानकारी दिए । 

पहिलो दिन उद्घाटन सत्र हुने अधिवेशनमा दोस्रो दिन बन्द सत्र हुनेछ । बन्द सत्रबाट नै नयाँ नेतृत्वको पनि चयन हुने अध्यक्ष राईले जानकारी दिए । विधान अनुसार तीन बर्षको कार्यकाल भएपनि राई नेतृत्वको कार्यसमितिले ९ बर्षपछि मात्र अधिवेशन गर्न लागेको हो । अधिवेशन गर्ने भनेर विभिन्न समयमा १४ पटक निर्ण भएपनि कोभिडलगायत विविध कारणले समयमा गर्न नसकिएको अध्यक्ष राईले बताए । 

‘समयमा नै अधिवेशन गर्ने तयारी हुदै गर्दा कोभिडको कारणले रोकियो । पछि कावासोतीमा भएको महाधिवेशनले विधान संशोधन हुँदा प्रदेश, जिल्ला र नगर नियमावली बनाएर चलाउने भन्ने व्यवस्था गरेछ,’ उनले भने,‘त्यो नियमावली आउन ढिलाई हुँदा पनि जिल्ला अधिवेशन गर्न समय लाग्यो ।’

सर्वसम्मत नेतृत्व चयनमा पहल

Nefin1

अध्यक्ष राईका अनुसारसुनसरीमा विभिन्न २० वटा जातीय संस्थाहरु सदस्यकोरुपमा महासंघमा आवद्ध रहेको छ । जुन संस्थाको प्रतिनिधिले अध्यक्ष बनेर नेतृत्व गरिसकेको छ, त्यसबाहेकका जातीय संस्थाको प्रतिनिधिले मात्र आगामी नेतृत्वको लागि मनोनयन दर्ता गर्न पाउने प्रावधान रहेको पनि अध्यक्ष राईले बताए । 

‘त्यसैले गर्दा म वा मैले प्रतिनिधित्व गर्ने जातीय संस्थाले अब फेरि अध्यक्ष हुन्छु भन्न पाउदैन । तसर्थ, नेतृत्व सर्वसम्मत चयन गर्नुपर्छ भनेर लविङ गर्न मलाई र किरात राई यायोक्खालाई सजिलो पनि भएको छ,’ उनले भने,‘नेतृत्व सर्वसम्मत चयन गर्नुपर्छ भनेर सबै लागेका छौं । नेतृत्व सर्वसम्मत हुँदा मात्र हाम्रो आन्दोलनलाई एकतावद्ध बनाएर अघि बढाउनसक्छौं ।’

नेतृत्वमा सबै जातीको प्रतिनिधित्व होस् भन्ने उद्देश्यले एउटा जातीय संस्थाले नेतृत्व लिएपछि अरुको पालो नआएसम्म अध्यक्ष बन्न नपाउने प्रावधान जनजाति महासंघमा रहेको छ । हाल सुनसरीमा रहेको आवद्ध संस्थाको हिसाबले एउटा जातीले नेतृत्व लिन ६० बर्ष कुर्नुपर्ने हुन्छ । 

बजेट अभावले पुर्णता पाएन बहुजातीय संग्रहालय

यो अधिवेशनबाट निवार्चित हुने नयाँ नेतृत्वले धरान १४ स्थित निर्माणाधिन बहुजातीय संग्रहालयसहित जिल्लाको विभिन्न स्थानमा रहेको आदिबासी जनजाति समुदायको ऐतिहासिक, साँस्कृतिक स्थलको उचित संरक्षण तथा सामुदायिक भवनलाई पुर्णता दिई व्यवस्थितरुपमा सञ्चालन गर्न तदारुकता गर्नुपर्ने दायित्व रहेको महासंघ अध्यक्ष राईले बताए । 

nefin2

उनका अनुसार संग्रहालय २०६६ सालमा गुरुयोजना बनाएर शुरुवात गरिएपनि बजेट अभावले पुर्णता पाउन नसकेको हो । तत्कालिन समयमा ३४ करोडको लागत अनुमान गरेर लाइभ म्युजियमको अवधारणामा शुरुवात गरिएको थियो । ‘मुल भवन बन्यो, अरु वाल, ड्रेनएजलगायत संरचनाहरु पनि बनेको छ,’ उनले भने,‘तर गुरुयोजना अनुसार लाइभ म्युजियमको अवधारणा थियो, त्यो पुरा हुन सकेन । विविध कारण भएपनि मुख्य समस्या बजेट अभाव हो ।’

हिमाल, पहाड र तराई, मधेशको प्रतिनिधित्व हुने गरि जातीय संस्थाहरुलाई आआफ्नो मौलिक, साँस्कृतिक पहिचान झल्कने गरि घर निर्माण गर्न जिम्मा दिइएको पनि महासंघ अध्यक्ष राईले बताए । संग्रहालय निर्माणको लागि हालसम्म भएको काम र बजेट खर्चको सम्पुर्ण विवरण बन्दसत्रमा प्रस्तुत गरिने पनि उनले बताए । 

आदिबासि जनजाति कि मुलबासी भुमिपुत्र भन्नेबारे पत्रकारले राखेको जिज्ञासामा जवाफ दिदै अध्यक्ष राईले जस्ले जे भनेर सम्बोधन गरेपनि कुरा एउटै भएको बताए । उनले भने,‘आदि भनेर आधा भन्न खोजेको होइन । आदिवासी अर्थात यो ठाउँमा आदिम कालदेखिको बासोबास गर्ने भनेको हो । आदिबासी जनजाति, मुलबासी, भुमिपुत्र जे भनेपनि एउटै हो ।’

भिडियो: