धरान: जेन जी आन्दोलनपछि युवाहरुले गठन गरेको राष्ट्रिय परिवर्तन पार्टीको सुनसरी जिल्ला घोषणासभा यही पुष १९ गते धरानमा हुने भएको छ ।
पार्टीले मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दे पुष १९ गते शनिबार भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा घोषणासभा गर्ने जानकारी दिएको हो । उक्त घोषणासभाको प्रमुख अतिथि पार्टीका केन्द्रीय अध्यक्ष राजेश पोर्तेल आउने सचिव शिवराज जिमीले जानकारी दिए । उनका अनुसार बिशिष्ट अतिथिकोरुपमा पार्टी संरक्षक रहेका पुर्वआइजिपी सर्वेन्द्र खनाल, पुर्वसेनानी माधवसुन्दर खड्कालगायत पनि आउनेछन् ।
पार्टीका केन्द्रीय अध्यक्ष पोर्तेल जेन जी आन्दोलनका घाइते हुन् । उनले आन्दोलनको क्रममा उनले खुट्टा गुमाएका थिए । घोषणासभामा पार्टीको केन्द्र, प्रदेशका नेतृत्वसँगै सामाजिक अभियन्ता, बुद्धिजिवि र आम नागरिकको उल्लेख्य सहभागिता रहने पनि सचिव जिमीले बताए । ‘सभामा पार्टीको आगामी राजनीतिक दिशा, संगठन विस्तार, नीति तथा कार्यक्रमको प्रष्ट धारणा सार्वजनिक गरिनेछ,’ पत्रकार सम्मेलनमा उनले भने,‘जेन जी आन्दोलनका सहिद परिवार र घाइतेहरुको पनि उपस्थिति रहनेछ ।’

पार्टीका जिल्ला अध्यक्ष युमेनहाङ राईले जेन जी आन्दोलन र जेनजी युवाहरुबाट जन्मिएको पार्टी भएकोले युवाहरुको भावना, चाहना र नेतृत्व अनुसार अघि बढ्ने बताए । ‘जेन जी युवाहरुको पार्टी हो । त्यसैले युवाको भावना, चाहना र युवाकै नेतृत्वमा चल्छ,’ उनले भने,‘नेता मात्र होइन, पहिला जनता इमान्दार हुनुपर्छ । जनता इमान्दार भएमा नेता पनि इमान्दार हुन बाध्य हुन्छन् ।’
उनले पुराना नेताहरुले आवेशले राजनीतिक गरिरहेको उल्लेख गर्दै अब विवेकले राजनीति गर्नुपर्ने बताए । ‘हामी चुनाव जितौला वा नजितौला, हाम्रो मुद्दा बचाइराख्न र देश गम्भीर अवस्थामा पुगेकोले नचाहदा नचाहदै पनि पनि युवाहरु राजनीतिमा आउनुपर्यो,’ उनले भने ।
चुनाव चिह्न बाँसुरी रहेको यो पार्टीले आफ्नो घोषणापत्रमा मुख्य ७ एजेण्डालाई समावेश गरेको छ । जिल्ला अध्यक्ष राईका अनुसार प्रत्यक्ष राष्ट्रपति प्रणाली, शून्य भ्रष्टचार, सुशासन र इमान्दार राजनीति पार्टीको एजेण्डा रहेको छ । यस्तै, अब देश विकासमै–नेपालको युवा नेपालमै, आर्थिक पारदर्शिता–न्यायाधीश स्वयं जनता, राष्ट्रिय सार्वभौमिकता–सीमा सुरक्षा र न्याय, शिक्षा, स्वास्थ्यको देश–नेपालको नयाँ परिवेश पार्टीको एजेण्डा रहेको उनले बताए ।







