धरान: 'क' श्रेणीको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डपको २६ औं सँस्करण यही माघ २२ गतेदेखि हुने भएको छ । 

आयोजक धरान फुटबल क्लबले बिहिबार धरान १५ स्थित होटल मेरिकनमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता माघ २२ देखि फागुन २ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । धरान १६ स्थित रंगशालामा हुने प्रतियोगितमा यसपाली १० टिम सहभागी हुने महासचिव नविन राईले जानकारी दिए । उनका अनुसार विगतका सँस्करणहरुमा ८ टिम मात्र सहभागी हुने गरेको थियो । 

प्रतियोगितामा एनआरटि क्लब काठमाण्डौं, चर्च ब्वाईज क्लब काठमाण्डौं, नेपाल पुलिस क्लब काठमाण्डौं, रोयल थिम्पु क्लब भुटान, जर्जियन क्लब कालेम्पुङ भारत, एलए क्लब पोखरा, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाईज युनाइटेड क्लब काठमाण्डौं, झापा ११ झापा र आयोजक धरान फुटबल क्लब सहभागी हुनेछ । 

budha subba4

विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान होण्डाको डियो स्कुटर पुरस्कार पाउनेछ । गत बर्षसम्म भने उत्कृष्ट खेलाडीले एक लाख नगद पुरस्कार पाउदै आएको थियो । 

यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद १० हजार पाउनेछ भने उत्कृष्ट गोलरकक्ष, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पुरस्कार पाउनेछन् भने सर्वाधिक गोलकर्ताले नगद ३५ जार पाउनेछन् । प्रतियोगिताको मुख्य प्रायोजक गोरखा ब्रअरी प्रालि (गोर्खा वियर), सहप्रायोजक टेस्टी टेस्टी चाउचाउ रहेको पनि महासचिव राईले जानकारी दिए । 

यसपाली प्रथम र दोस्रो पुरस्कार राशी धरान उपमहानगरपालिकाले उपलब्ध गराएको क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । प्रतियोगिताको लागि कुल १ करोड ७ लाख आय र ८७ लाख १५ हजार व्यय अनुमान गरिएको पनि उनले बताए । 

budha subba3

यो बर्षदेखि गेट टिकट बिक्रीको जिम्मा क्लब आफैले नलिई अन्य संस्थालाई दिने निर्णय भएको पनि अध्यक्ष तामाङले बताए । ‘यसले निःशुल्क प्रतियोगिता हेर्न चाहने र पास खोज्ने प्रवृत्तिलाई केही हदसम्म भएपनि निरुत्साहित हुनेछ भन्ने हामीलाई लागेको छ,’ अध्यक्ष तामाङले भने,‘धरानको फुटबललाई, बुढासुब्बा गोल्डकपलाई जोगाउनको लागि टिकट काटेर सहयोग गरिदिन खेलप्रेमीहरुलाई अनुरोध छ । सकेसम्म १ हजारको एउटा सिजनल टिकट खरिद गरेर सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।’

प्रतियोगिता सञ्चालनमा भविष्यमा आर्थिकरुपमा समस्या नहोस् भनेर अक्षयकोषको अवधारणा अघि बढाएको जानकारी दिदै अध्यक्ष तामाङले धरान हङकङ मञ्चका पुर्वअध्यक्ष प्रेम सुब्बाले १ लाख रुपैया प्रदान गर्ने जानकारी दिएको पनि बताए । प्रतियोगिताको खेलहरु स्तरीय बनाउन क्लब संख्या बढाउनुपर्ने सुझावलाई मध्यनजर गर्दै यसपाली १० वटा पुर्याएको पनि उनले खुलाए । विगतमा १२ वटा सम्म क्लब सहभागी गराएर प्रतियोगिता सञ्चालन गरेको स्मरण गर्दै भविष्यमा पुनः १२ वटा नै क्लब सहभागी गराउने पनि बताए । 

budha subba1

आयोजकले हालसम्म एक पटक पनि उपाधि जित्न नसकेको सन्दर्भमा भाग्यले पनि साथ नदिएको अध्यक्ष तामाङको भनाई थियो । ‘हामी पाँच चोटी फाइनल खेलेका छौं, राम्रो खेलेर पनि भाग्यले साथ नदिदा उपाधि विहिन हुन पुगेका छौं,’ उनले भने,‘धरानको टिममा बाहिरको खेलाडी नहोस् भन्ने माग हुन्छ, अचेल धरानमा खेलमैदान अभावले पहिला जस्तो खेलाडीहरु छैनन् । तर पनि यसपाली राम्रो टिम बनाउछौं।’

पत्रकार सम्मेलनमा गुरुङ बिबिक्युले उपलब्ध गराएको ट्रयाक सुट धरानको टिम मेनेजर र प्रशिक्षकहरुलाई प्रमुख अतिथि एवं धरान समाज युकेकी वरिष्ठ उपाध्यक्ष चन्द्रकला थेवे लिम्बुबाट हस्तान्तरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि थेवे र बिशिष्ट अतिथि एवं नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले मन्तव्य व्यक्त गरेका थिए । 

भिडियो: