धरान: नेपाली कम्युनिष्ट पार्टीले सुनसरी क्षेत्र नं १ बाट सुर्यबहादुर भट्टराई (मनोज) लाई टिकट दिएको चर्चाले धरानको राजनीतिलाई तताएको छ । 

धरान वडा नं १७ का निवार्चित वडाअध्यक्ष र कार्यपालिकाको प्रवक्तासमेत रहेका भट्टराईले टिकट पाएको चर्चा सामाजिक सञ्जालमा व्यप्त छ । धरानका स्थानीय नेता, कार्यकर्ताहरुले बधाई दिइरहेका छन् भने मिडियाहरुमा समाचार प्रकाशन पनि भइसकेको छ । स्वयम भट्टराई भने आफुले टिकट पाइसकेको औपचारिक जानकारी भने नपाएको बताउँछन् । उनले प्रदेश कमिटीबाट सर्वसम्मत सिफारिश भएको भन्ने जानकारी पाएको भने खुलाए । 

सुनसरी १ बाट भट्टराईले टिकट पाएको चर्चा नेकपाका नेता चोत्लुङले शनिबार दिउँसो फेसबुकमा पोष्ट गरेको एउटा स्टाटसबाट शुरु भएको थियो । उनले भट्टराईको तस्बिरसहित गहन परामर्श पश्चात सुनसरी १ मा वडाअध्यक्ष भट्टराईलाई उम्मेद्वार बनाउने निष्कर्षमा पुगेको उल्लेख गर्दै उनलाई (भट्टराईलाई) टिकट दिन पार्टी केन्द्रसँग अनुरोध पनि गरेका थिए । उनको यो स्टाटस पछि भट्टराईले टिकट पाएको चर्चा चुलिएको थियो । 

पार्टीको सुनसरी जिल्ला कमिटीले विभिन्न ८ जना उम्मेद्वारका आकांक्षीहरुको नाम सिफारिश गरेको थियो । ती मध्ये सुनसरी १ मा मुक्साहाङ मेन्याङ्बो (मुकेश), उमिता वराईली र वडाअध्यक्ष भटट्राईको नाम प्रदेश कमिटीबाट सिफारिश भएको थियो । ‘हामीले परामर्श गरेर मोटामोटीरुपमा मनोज जीको नाममा टुंगो लगायौं, र मैले आफ्नो धारणा फेसबुकबाट क्लियर गरिदिएको हो,’ नेकपाको प्रदेश कमिटी सचिवालय सदस्य चोत्लुङले भने ।

मेयर पदमा साम्पाङ विरुद्ध चुनाव लड्न चाहन्थे भट्टराई

वडाअध्यक्ष भट्टराईले टिकट पाउदा फागुन २१ गतेको चुनावी भिडन्तमा सुनसरी १ मा रोचकता थपिनेछ । यही क्षेत्रबाट धरानका नगर प्रमुख एवं श्रम सँस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ) पनि उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् । प्रगतिशिल लोकतान्त्रिक पार्टीका अध्यक्ष मण्डल सदस्य एवं पुर्वमन्त्री सुदन किराती पनि यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा जुटेका छन् । आकांक्षीहरु सिफारिश भएपनि कांग्रेस र एमालेबाट भने उम्मेद्वार सुनिश्चित भइसकेका छैनन् । 

धरानको कार्यपालिका बैठकमा नगर प्रमुख साम्पाङ र वडाअध्यक्ष भटट्राईबीचको विभिन्न एजेण्डामा पर्ने नोकझोकले दुवै जना सामाजिक सञ्जालमा भाइरल बनेका पात्र हुन् । साम्पाङका समर्थकहरुले वडाअध्यक्ष भट्टराईलाई ट्रोल बनाए पनि त्यसले उनलाई साम्पाङकै हाराहारीमा चर्चा दिलाएको छ । कार्यपालिका बैठकमै वडाअध्यक्ष भटट्राईले नगर प्रमुख साम्पाङलाई राजिनामा दिएर आफुसँग चुनाव लड्न चुनौतीसमेत दिएका थिए । उनले त्यसबेला नगर प्रमुखको चुनावमा लड्ने र साम्पाङलाई हराउने दाबीसमेत गरेका थिए । 

जेन जी आन्दोलनपछिको बिषम परिस्थितिले स्थानीय तह निर्वाचनभन्दा अगावै प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुन लागेको छ, र यो निर्वाचनबाट प्रधानमन्त्री हुने घोषणा गरेर साम्पाङ चुनावमा होमिएका छन् । नगर प्रमुखको पदमा साम्पाङसँगै चुनाव लडेर हराउने घोषणा गरेका वडाअध्यक्ष भट्टराई पनि अन्ततः प्रतिनिधिसभा निर्वाचनमा साम्पाङसँगै सुनसरी १ बाट लड्ने भएपछि रोचकता थपिएको छ । भट्टराई २०७४ सालको पहिलो स्थानीय तह निर्वाचानमा तत्कालिन नेकपा माओवादीबाट वडा नं १७ मा वडाअध्यक्षमा निवार्चित भएका थिए भने २०७९ को निर्वाचनमा पनि लोकप्रिय मतका साथ वडाअध्यक्षमा दोहोरिएका थिए ।