धरान: नगर प्रमुख पदबाट हर्कराज राई (साम्पाङ)ले राजिनामा दिएर धरान उपमहानगरपालिकाबाट बाहिरिएपछि कर्मचारीबीच लफडा भएको छ । 

सिनियर कर्मचारी भएपनि निवर्तमान प्रमुख साम्पाङले जिम्मेवारीविहिन बनाएर राखिएकी प्रज्ञादेवी निरौलाले शुक्रबार उपमहानगरपालिकामा हंगमा गरेकी थिइन् । उनले प्रशासन महाशाखा प्रमुख बेदप्रसाद सापकोटाको नेमप्लेट निकालेर फालिदिएकी थिइन् । कार्यालयमा सिसाहरु पनि सामान्य क्षति पुगेको उपमहागनर स्रोतले जानकारी दिएको छ । 

उक्त घटना पछि कार्वावाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघा र केही वडाअध्यक्षहरुले निरौलालाई सम्झाइबुझाइ गरेका थिए । तर, निरौलाले प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईको सरुवाको रमाना पत्र पठाइदिएपछि खैलाबैला मच्चिएको छ । ‘कार्यवाहक नगर प्रमुख, वडाअध्यक्षले सम्झाई बुझाई गर्नुभएको थियो, तर पछि फेरि प्रमुख प्रशासकीय अधिकृतलाई नै रमाना पत्र पठाइदिनुभएछ,’ स्रोतले भन्यो । प्रमुख प्रशासकीय अधिकृत चौलागाई भने विदामा थिए । 

यो लफडाको बिउ भने निवर्तमान प्रमुख साम्पाङले नै रोपेका थिए । प्रज्ञादेवी निरौला प्रमुख प्रशासकीय अधिकृत चौलागाईभन्दा केही सिनियर भएको बताइएको छ । सामाजिक विकास महाशाखा प्रमुखकोरुपमा रहेकी निरौलालाई निवर्तमान प्रमुख साम्पाङले नै प्रशासन प्रमुखकोरुपमा सरुवा गरेर ल्याएका थिए । साम्पाङले वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडालाई शिक्षा तथा खेलकुद महाशाखामा सरुवा गरिदिएका थिए । 

bed g name plate copy

संघीय प्रतिनिधिकोरुपमा रहने प्रमुख प्रशासकीय अधिकृत धरानमा आउन नमानेपछि अधिकार प्रत्यायोजन गरेर उपमहानगरपालिकाको सबैभन्दा सिनियर प्रज्ञादेवी निरौलाले नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएकी थिइन् । केही समयपछि मतभेद हुँदा निरौलालाई साम्पाङले जिम्मेवारीविहिन बनाएका थिए । प्रक्रिया एवं नियम, कानुन विपरीत काम गर्न दबाब दिदा निरौलाले नमानेपछि जिम्मेवारीविहिन बनाएको भन्दै कार्यपालिका बैठकमा नै साम्पाङको चर्को आलोचना पनि भएको थियो । साम्पाङले वेदप्रसाद सापकोटालाई प्रशासन प्रमुखको जिम्मेवारी दिएका थिए । 

यो घटनाको बिषयमा कार्यवाहक नगर प्रमुख बेघालाई मोवाइल सम्पर्क गर्दा पनि रिसिभ गरेनन् । प्रमुख प्रशासकीय अधिकृत चौलागाईले घटनाबारे आफुले सुनेको मात्र बताए । साथै उनले वाट्सएपमा आफ्नो रमाना भएको बिषय आएपनि यथार्थ के भएको हो भनेर थाह नभएको प्रतिक्रिया दिए । 

‘घटनाबारे मैले पनि सुनेको मात्र हुँ, के भएको थाह छैन । आइतबार अफिस आएपछि थाह हुन्छ । रममनाको बिषय पनि वाट्सएपमा आएको हो, के भएको हो थाह छैन,’ उनले भने ।