धरान: दुई दिने चिभास इष्टर्न गल्फ टुर्नामेन्ट २०२६ मा धरानका खेलाडी जितेन्द्र राई च्याम्पियन बनेका छन् ।
धरान गल्फ कोर्षमा शुक्रबार र शनिबार भएको प्रतियोगितामा ग्रस स्कोर ३९ गर्दै उनी च्याम्पियन बनेका हुन् । कोशी प्रदेश गल्फ संघको आयोजनामा भएको प्रतियोगितामा च्याम्पियन बनेका राई सुनसरी जिल्ला गल्फ संघका अध्यक्षसमेत हुन् । उनी ३ ह्याण्डीक्याप खेलाडी हुन्, र नेट स्कोर भने ४२ गरेका थिए । उनले च्याम्पियन ट्रफी र ५० हजार बराबरको चिभास रोयल स्यालुट विस्की पुरस्कार स्वरुप पाए ।
यस्तै, पदमहाङ लिम्बुको पनि ग्रस स्कोर ३९ भए पनि काउन्ट ब्याकको आधारमा उपविजेता बने । एक ह्याण्डीक्याप खेलाडी लिम्बूको नेट स्कोर ४० रहेको थियो ।

यसैगरि, प्रतियोगितामा पुरुषतर्फ ह्याण्डीक्याप १ देखि ८ सम्मको स्पर्धामा सिद्धान्त सापकोटाले ४२ स्कोर गर्दै प्रथम भएका थिए भने ४२ स्कोर गरेपनि काउन्टब्याकको आधारमा डिआइजी अशोक सिंह दोस्रो भए । तेस्रो स्थान भएका श्याम लिम्बूले ४० स्कोर गरेका थिए ।
यस्तै, पुरुषतर्फ ह्याण्डीक्याप ९ देखि १६ सम्मको स्पर्धामा कृष्ण पुन ४२ स्कोरका साथ प्रथम हुँदा हिरण प्रधान र श्याम तामाङ क्रमशः दोस्रो र तेस्रो बने । पुरुष ह्याण्डीक्याप १७ देखि २४ सम्मको स्पर्धामा सोम गुरुङ ५० स्कोर गर्दै प्रथम भए । दोस्रो भएका भुवन घिमिरेले ४५ स्कोर र प्रताप जंगले ४४ स्कोर गरेका थिए ।

यसैगरि, महिलातर्फ १८ स्कोर गरेकी सम्झना खत्री ग्रस च्याम्पियन भइन् भने ३४ स्कोर गरेकी जनावी गुरुङ नेट विजेता र ३३ स्कोर गरेकी विना सापकोटा उपविजेता भइन् । सिनियरतर्फ गणेश जिमी प्रथम र तुलसी लिम्बू उपविजेता बने।
यस्तै, प्रतियोगितामा लङ्गेष्ट ड्राइभको पुरस्कार प्रदिप सारडाले जिते भने नियरेष्ट टु दि पिनको पुरस्कार दिपेन्द्र राईले जिते । यसैगरि, क्लोजेष्ट टु दिन दि लाइनको पुरस्कार दिपक मगर र ५ बर्डी खेलेका राम तामाङले मोष्ट बर्डिजको पुरस्कार पाए ।

प्रतियोगिता धरान १८ स्थित धरान गल्फ क्लब तथा गल्फ कोर्षमा आयोजना भएपनि पुरस्कार वितरण समारोह भने इटहरीस्थित होटल रमडामा भएको थियो । दुई दिने प्रतियोगितामा धरान गल्फ कोर्षमा हालसम्मकै सर्वाधिक खेलाडीहरु सहभागी भएका थिए । आयोजकका अनुसार २ दिनमा कुल १३० जना एमेच्योर गल्फरहरुले भाग लिएका थिए । खेलाडीहरु धरान, काठमाण्डौं, पोखराका साथै विदामा नेपाल आएको बेला दुबई, सिंगापुर, युकेबाटसमेत सहभागी भएका थिए ।
भिडियो:
विजेता खेलाडीहरुलाई प्रतियोगिताको मुख्य प्रायोजक पौनरिका चिभास रिगल उत्पादक कम्पनीका कन्ट्री हेड एवं गल्फर सौरभ भट्टराई, आयोजक कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.बिक्रम श्रेष्ठ, आरएनजिएका अध्यक्ष मधुकर याक्थुङबा, सुनसरी गल्फ संघका अध्यक्ष जितेन्द्र राई, धरान गल्फ क्लबका अध्यक्ष हरिबहादुर राई, आरएनजिसी लेडि क्याप्टेन आर्शिया वानुले पुरस्कार वितरण गरेका थिए ।
















