धरान: सुनसरी क्षेत्र नं १ मा एमालेबाट प्रत्यक्षतर्फका उम्मेद्वार बनेका टिकाराम लिम्बु र समानुपातिक उम्मेद्वार मौषम राईले धरान वडा नं ४ मा घरदैलो शुरु गरेका छन् ।
आज बिहान पाँचकन्याको हातबाट टीका ग्रहण गरेर उम्मेद्वारद्धयले वडा ४ स्थित खैरेनीटार काठेपुलबाट घरदैलो शुरु गरेका हुन् । उम्मेद्वारहरुलाई पाँचकन्याहरुले कलशले स्वागत गर्दै टीका र रुद्राक्षको माला लगाइदिएर अभियानको शुभारम्भ गरेका थिए ।
उमेदवारहरुलाई ४ नम्बर वडाका वडाअध्यक्ष धनबहादुर राईले शुभकामना दिँदै सूर्यमा मतदान गर्न पनि आह्वान गरेका थिए । वडाअध्यक्ष राईले संघीय निर्वाचन भएको र वडा ४ एमालेको आधार क्षेत्र पनि भएकोले सूर्यमा मतदान गर्न आह्वान गरे ।

घरदैलो अभियानमा निर्वाचन परिचालन समितिका सहसंयोजक प्रदिप भण्डारी, प्रदेश सांसदहरु विजयकुमार राई, रमेश बस्नेत, निर्वाचन परिचालन प्रचार तथा प्रकाशन समितिका संयोजक भीमज्वाला राई, निर्वाचन परिचालनका हाइकमाण्डका जयकुमार राई, शुशीला पहाडी, मीनकुमार सुब्बा लगायतका सहभागी रहेका थिए ।
वडा ४ को खैरेनीटार, बसन्तटार, किरात वस्ती, पत्राङबारी लगायतका टोलहरुमा जनतासंग उमेदवारहरुलाई साक्षात्कार गराईने निर्वाचन परिचालन समिति धरान ४ का संयोजक राजन चाम्लिङले बताए । कार्यक्रममा नेकपा (एमाले) वडा नम्बर ४ का अध्यक्ष दोर्ण कटवालले वडा एमालेको जनआधार भएको वडा भएकाले यसपाली पनि जनताले सुर्यमा मतदान गर्ने विश्वास व्यक्त गरे ।
पिण्डेश्वर महादेवको दर्शन
वडा ४ मा घरदैलो अभियान शुरु गर्नुअघि उम्मेद्वार लिम्बुले पिण्डेश्वर महादेवको दर्शन गर्न पुगेका थिए । उनले पिण्डेश्वर महादेवको दर्शन र पुजा गरेका थिए भने मन्दिर परिसरमा संकल्प पुजा पनि गरेका थिए । आज शिवरात्री पर्व परेको कारणले पनि पिण्डेश्वरको दर्शन गर्न आएको उम्मेद्वार लिम्बुको भनाई थियो ।

दर्शन एवं पुजाअर्चना पछि मिडियासँग प्रतिक्रिया दिदै उनले भगवान शिव र आमजनताको कृपा आफुलाई भएकोले चुनाव जित्ने विश्वास व्यक्त गरे । 'मलाई शिव र आमजनताको कृपा छ, त्यसैले चुनाव जित्छु,' लिम्बुले भने, 'पिण्डेश्वर जस्ता धार्मिक पर्यटकीयस्थलहरुको प्रर्वद्धन गर्न ध्यान दिनेछौं ।'
लिम्बुले पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, पाँचकन्या, रामधुनी, बराहक्षेत्रलगायत महत्वपुर्ण आस्थाका केन्द्रहरुलाई धार्मिक पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्ने योजनाका साथ अघि बढ्ने बताए । 'गुरुयोजना बनाउनुपर्छ, यसको लागि बुद्धिजिवि र समितिसँग समन्वय, सहकार्य गर्नेछौं,' लिम्बुले भने ।
भिडियो:







