धरान: जनता समाजवादी पार्टीबाट सुनसरी क्षेत्र नं १ का उम्मेद्वार नगेन्द्र बहादुर लिम्बू (पारघरी)ले आफ्ना विभिन्न २६ बुँदे चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । 

पार्टी केन्द्रीय अध्यक्ष अशोककुमार राईसमेतको उपस्थितिमा सोमबार होटल धरान किचनमा पत्रकार सम्मेलन गर्दै उम्मेद्वार लिम्बूले प्रतिवद्धताहरु सार्वजनिक गरेका हुन् । उम्मेद्वार लिम्बूले निवर्तमान सांसद एवं पार्टी अध्यक्ष राईको बिशेष पहलमा धरान, बराहक्षेत्र र रामधुनीमा १ अर्ब १९ करोड ६ लाख ३३ हजार बराबरको विकास योजनाहरु सम्पन्न हुने चरणमा रहेको बताए । 

साथै अन्तरिम सरकार गठनपछि १६ करोडको बजेट अस्थायीरुपमा रोकिएकोले निर्वाचन सम्पन्न हुनासाथ ती योजनाहरुलाई पुनः गति दिन र थप बजेट निकासा गराउन सक्रिय पहल गर्ने प्रतिवद्धता पनि लिम्बुले गरेका छन् । 

धरानलाई प्रदेश नं १ कै शिक्षा र सुचनाको केन्द्रीय सहरकोरुपमा विकास गर्न स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने, धरानको ऐतिहासिक महत्वलाई कायम राख्दै धरान र आसपासका क्षेत्रलाई समेटेर स्मार्ट सहरकोरुपमा विकास गर्ने, विष्णुपादुकाको पहाडी क्षेत्रमा पर्यटन विकास गर्ने, खानेपानीको दीर्घकालिन समाधान गर्न संघीय सरकारले धरानलाई प्राथमिकतामा राखेर दिएको सप्तकोशी परियोजनालाई कार्यान्वयन गर्न पहल गर्ने पनि लिम्बूको प्रतिवद्धता पत्रमा उल्लेख छ । 

यस्तै, प्रस्ताविक धरान लेउती सुरुङ मार्गलाई सम्पन्न गरि धरानलाई व्यापारिक केन्द्रकोरुपमा स्थापित गर्ने, परम्परागत खेती प्रणालीबाट खेतीयोग्य जमिनलाई व्यावसायिक खेती प्रणालीमा लैजाने, गोर्खा भूपू सैनिकहरुको नागरिकतालाई बिनासर्त कायम गर्न ऐनको व्यवस्था गर्ने, सुनसरी १ लाई खेल पर्यटनको केन्द्रकोरुपमा विकास गर्नेलगायत प्रतिवद्धताहरु समेटिएको छ । 

jasapa

यसैगरि, ठुला विकास योजनाहरुलाई निरन्तरता दिदै कोकाहा खोला, सेउती खोला र सुपारे खोलामा आवश्यकता अनुसार पक्की पुल निर्माणको व्यवस्था गर्ने, सेउती करिडोर निर्माणलाई प्राथमिकतामा राखेर आवश्यक समन्वय र पहल गर्ने साथै धरान १९ हरियालीदेखि रामधुनी ६ बक्लौरीसम्मको सडक मार्ग स्तरोन्नती गर्ने पनि प्रतिवद्धतामा समेटिएको छ । 

‘मैले २०४६ सालदेखि नै सामाजिक कामहरु गरिरहेको छुँ । निवर्तमान सांसद अशोककुमार राई ज्युको पालामा शुरुवात भएको कामहरुलाई पुरा गर्न पनि मेरो उम्मेद्वारी हो,’ उनले भने,‘यहाँका कति उम्मेद्वारहरुलाई योजनाका कुराहरु, सरकारको अंगको कुराहरु, राज्य सञ्चालनको प्रणालीका कुराहरु बुझेका छैनन्, तर मैले राम्ररी अध्ययन गरेको छुँ, बुझेको छुँ, त्यसैले ती अधुरा योजनाहरुलाई कार्यान्वयन गराउन भुमिका खेल्न सक्छुँ ।’ 

उम्मेद्वार लिम्बूको चुनाव चिह्न जाँतो रहेको छ । पार्टीका अध्यक्ष एवं पुर्वमन्त्री राईले पनि उम्मेद्वार लिम्बू धेरै कानुनी, प्रशासनिक अनुभव भएको र सामाजिक अगुवा व्यक्तित्व भएकोले पनि जितको हकदार भएको बताए । ‘मेरो सचिवालयमा रहदा धेरै कुराको अनुभव उहाँलाई छ । सुनसरी १ को समस्याहरु र त्यसलाई हल गर्न अघि बढेको प्रक्रियाको फाइल कुन मन्त्रालय, कार्यालयमा कहाँ पुगेको छ भन्ने पनि उहाँलाई थाह छ । त्यसैले उहाँजस्तो अनुभवी, जनताको समस्या सबै ज्ञान भएकोलाई जिताउनुहुनेछ भन्नेमा सुनसरी १ का मतदाताहरुसँग अपिल छ,’ उनले भने । 

भिडियो: