धरान: पुर्वमन्त्री एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जलविद्युत र समग्र जलस्रोतको उपयोग र व्यवस्थापन नै देशको समृद्धिको मुख्य आधार भएको बताएका छन् ।
सोमबार धरानको भानुचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले नदीहरुको व्यवस्थापन र जलाधार क्षेत्रको व्यवस्थापन गरेर देशमा समृद्धिको आधार बनाउनुपर्ने बताए । ‘जलविद्युत र समग्र जलस्रोतको उपयोग, व्यवस्थापन नै देशको समृद्धिको मुख्य आधार हो,’ उनले भने,‘यसमा सिचाई आउछ, जलविद्युत आउछ, खानेपानी आउछ, पर्यटन आउछ । जलस्रोतको समग्र व्यवस्थापन नभएसम्म देशको समृद्धि हुदैन ।’
घिसिङले आफ्नो पार्टीको सरकार आएपछि द्रुत विकासको दशक घोषणा गरेर अघि बढ्ने पनि बताए । छाता ऐन ल्याएर कानुन, नियम र प्रक्रिया छोट्याउदै जाने र देशको परिवर्तनको लागि विकासनिर्माणको काम अघि बढाउने उनको भनाई थिथो । विकास निर्माणको वाधक बनेको अनावश्यक कानुन, नियमलाई संशोधन गर्ने उनले बताए ।

जलविद्युतमा सन् २०३० सम्म १२ हजार, सन् २०३५ सम्म २५ हजार र सन् २०४५ सम्म ४० हजार मेघावाट उत्पादन गर्ने लक्ष्य राखेको पनि घिसिङले बताए । ‘हामीले ३० हजार मेघावाट मात्र निर्यात गर्न थाल्यौं भने करिब १५ देखि २० खर्ब विदेशी मुद्रा आर्जन गर्नसक्छौं । त्यो भनेको आज हाम्रो देशको बजेट हो,’ उनले भने,‘त्यसो भयो भने शिक्षामा फ्रि, स्वास्थ्यमा फ्रि, सार्वजनिक यातायात फ्रि गर्न सक्छौं । गरिब जनतालाई आवास दिनसक्छौं, सबै किसिमको आधारभुत सुविधा दिनसक्ने स्थितिमा हुन्छौं ।’
पुर्वाधार विकासको लागि सडक, पुल र विभिन्न रेल, जलमार्गमा ठुला ठुला लगानी गरेर देशलाई समृद्ध बनाउन जलविद्युत आधार बन्ने उनको भनाई थियो । ‘पानीबाट जलविद्युत मात्र होइन, हाइड्रोजन बनाउन सक्छौं, यो विश्वको नयाँ उर्जा बनेको छ । ट्यांकरमा राखेर भारत, वंगलादेश, युरोपमा बेच्नसक्छौं,’ उनले थपे,‘सगरमाथाको पानी भनेर बोतलमा राखेर ब्राण्डिङ गरेर विश्वमा बेच्न सक्यौं भने कति कमाउन सकिन्छ होला ।’
'हिजो गरेको कामको लागि मतदान गर्नुपर्छ '
घिसिङले विगतमा आफुले गरेको काम र परिणामको लागि उज्यालो नेपालका उम्मेद्वारहरुलाई मतदान गर्नुपर्ने बताए । ‘हिजो हामीले काम गरेर जुन परिणाम दिएका थियौं, जनताको लागि देशको लागि जुन काम गर्यौं, मतदाताले त्यसको लागि उज्यालो नेपाल पार्टीलाई रोज्ने र मतदान गर्ने विश्वास छ,’ उनले भने,‘यो पार्टी जेन जी आन्दोलनपछि जेन जी युवा, घाइते जेनजी र सहिद परिवारहरुले खोलेको पार्टी हो, त्यसैले पनि मतदान हामीलाई गर्नुपर्छ ।’

देशको समृद्धिको लागि भ्रष्टछचार उन्मुलुन गर्ने, सुशासन कायम गर्ने, सबै विभेद र विसंगति हटाउदै समाजिक न्याय, समतामुलक समाज स्थापना गर्ने, युवाहरुलाई देशमै रोजगारी दिने र अर्थतन्त्र आत्मनिर्भर बनाउदै मुलुक समृद्ध बनाउने भएकोले पनि मत दिन उनले आह्वान गरे । ‘यसको लागि हामीले भिजन तयार गरेका छौं, त्यसलाई कार्यान्वयन गर्नको लागि, हाम्रो भविष्यको लागि र आर्थिक रुपान्तरणको लागि हामीलाई मतदान गर्नुपर्छ,’ उनले भने ।
घिसिङले दैनिक १८ घण्टा लोडसेडिङले सबै क्षेत्र तहसनहस भएको बेला प्राधिकरणको नेतृत्वमा पुगेर एक महिनाभित्रै अन्त्य गरेको र ८ बर्षमा हरेक नेपालीको घरमा विजुली पुर्याएको जिकिर गरे । ‘हरेक घरमा बत्ति पुर्याएका छौं, खेतमा सिचाईको लागि बत्ति पुर्याएका छौं । विपन्नलाई फ्रीमा मिटर बाँड्यौं, २० युनिटसम्म फ्रिमा बिद्युत दिएका छौं, ३० रुपैया मात्र तिरे पुग्ने अवस्था सृर्जना गरेका छौं,’ उनले भने, ‘सिचाईमा २ रुपैया मात्र युनिट कायम गरेका छौं । खानेपानीमा सहुलियत गर्यौं, विद्युतीय चार्जिङ स्टेशनमा सहुलियत गर्यौं । लोडसेडिङ मात्र अन्त्य भएन, सरकारी संस्था विद्यूत प्राधिकरण ३५ अर्ब घाटामा थियो, त्यसलाई नाफामा लगेर ८ बर्षमा १ खर्ब बढी नाफामा ल्यायौं ।’ नेपाललाई लोडसेडिङ मुक्त गर्दै भारत र वंगशालादेशमा २० अरबको निर्यात गर्न पनि सफल भएको घिसिङले दाबी गरे ।
विद्युत क्षेत्रको लोडसेडिङ अन्त्य भएपनि उनले राजनीतिक क्षेत्रको दुर्गन्ध र अध्यारो हटाउन बाँकी रहेको र त्यसैको लागि उज्यालो नेपाल पार्टी जन्मिएको बताए । ‘राजनीतिक क्षेत्रमा भ्रष्टचार छ, अनियमितता छ, आचरणमा दुर्गन्ध छ, त्यो हटाउनको लागि र हरेक व्यक्तिको मुहारमा उज्यालो ल्याउनको लागि हाम्रो पार्टी आएको हो,’ उनले भने ।
भिडियो:
भिडियो:







