धरान: किरात याक्थुङ चुम्लुङले आसन्न फागुन २१ गतेको निर्वाचनमा मुक्कुम्लुङ संरक्षण गर्न नो केवलकार र नो कोशी अभियानमा प्रतिवद्धता नभएका राजनीतिक दल र उम्मेद्वारलाई नो भोट गर्न अपिल गरेको छ ।
चुम्लुङले शनिबार धरान १५ स्थित चुम्लुङ हिममा पत्रकार सम्मेलन गरेर आफ्ना एजेण्डाहरु प्रस्तुत गर्दै यस्तो अपिल गरेको हो । चुम्लुङले मुख्य तीन बुँदे एजेण्डाहरु सार्वजनिक गर्दै ती एजेण्डामा सहमत हुने, अडान लिने र कार्यान्वयन गराउन कटिवद्ध हुने उम्मेद्वारलाई पार्टी र जातिभन्दा माथि उठेर मतदान गर्न पनि आह्वान गरेको हो ।
चुम्लुङले प्रस्तुत गरेको मुख्य एजेण्डामा कुम्कुम्लुङ संरक्षण/ बचाउ, मुक्कुम्लुङमा केवलकार खारेजी र नो कोशी अर्थात प्रदेश नं १ मा कोशी नाम खारेजी गरि तीन एजेण्डा रहेको छ । यी एजेण्डाबाहेक अन्य १० र १५ बुँदे एजेण्डाहरु पनि रहेको चुम्लुङले जनाएको छ ।
यी एजेण्डाहरुमा प्रमुख राजनीतिक दलहरुले मौनता साँधेका छन् भने उज्यालो नेपाल पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मात्र आफ्नो प्रतिवद्धता पत्रमा समावेश गरेका छन् । चुम्लुङका केन्द्रीय सदस्य कर्णबिक्रम तुम्बाहाम्फेले यी एजेण्डाहरुलाई आफ्नो चुनावी प्रतिवद्धतामा नसमेटेका पार्टी र उम्मेद्वारलाई मत नदिन अपिल गरिएको बताए ।







