धरान: श्रम सँस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङ राईले क्विक रेस्पोन्स टिम (क्युआरटि) बिघटन गरेको घोषणापछि पार्टीभित्रको गुटबन्दी र असन्तुष्टी पुनः सतहमा आएको छ । 

साम्पाङले आज सामाजिक सञ्जाल फेसबुकबाट क्युआरटी बिघटन गरिएको र श्रम सँस्कृति सुरक्षा विभाग गठन प्रक्रिया शुरु गरिएको घोषणा गरेका थिए । उनको यो घोषणा लगत्तै क्युआरटिका संयोजक ज्ञानु चाम्लिङले प्रेस विज्ञप्ती जारी गर्दै साम्पाङको उक्त घोषणालाई विधानविपरीत र अलोकतान्त्रिक कदम भन्दै रोक्न माग गरेका छन् । 

प्रेस विज्ञप्ती जारी गर्नेहरुमा थप ३४ जनाको नाम पनि उल्लेख गरिएको छ । उनीहरुले आफुहरुसँग कुनै सरसल्लाह व छलफल नगरी क्युआरटि बिघटन र सुरक्षा विभाग गठनको घोषणा भएको र यो विधानविपरीत तथा अलोकतान्त्रिक भएको पनि जनाएका छन् । 

क्युआरटि बिघटन र सुरक्षा विभाग गठनको प्रक्रिया नरोकिए आफुहरुले नै क्युआटिलाई पुर्नगठन गर्ने पनि विज्ञप्तीमा घोषणा गरेका छन् । साथै, उनीहरुले पार्टीभित्रको विसंगति, स्वेच्छाचारिता तथा विधान विपरीतका गतिविधिहरुको भण्डाफोर गर्दै पार्टी शुद्धिकरण अभियान सञ्चालन गर्ने पनि विज्ञप्तीमा उल्लेख गरेका छन् ।

पछिल्लो समय श्रम सँस्कृति पार्टीमा गुटबन्दी र असन्तुष्टी चुलिदै गएको छ । आगामी स्थानीय चुनावमा मेयरको उम्मेद्वारको चयनले पार्टीभित्र गुटबन्दी र असन्तुष्टी झ्यागिएको नेता, कार्यकर्ताहरु बताउने गरेका छन् । क्युआरटिभित्रको विवाद र गुटबन्दी यसअघि पनि सामाजिक सञ्जालमा छताछुल्ल भएको थियो।

qrt press