धरान: पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कपमा प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल, धरान च्याम्पियन भएको छ ।
डिपो माध्यमिक विद्यालयले आयोजना गरेको प्रतियोगिताको फाइनलमा प्रभातले इटहरीको पाराडाइज बोर्डिङ स्कुललाई ३८–३० स्कोरले पराजित गर्दै उपाधि उचालेको हो । फाइनल खेलको प्रत्येक क्वाटरमा प्रभातले ५–४, १०–११, ७–३ र १६–१२ स्कोरले पाराडाइजलाई पराजित गर्यो ।
उपाधि ट्रफीसहित प्रभातले नगद २० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेता पाराडाइजले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो । फाइनल खेलको म्यान अफ द म्याच प्रभातका नेमसाङ मगर घोषित भए ।
प्रतियोगितामा उदयमान खेलाडी पाराडाइजका सक्षम तामाङ, महत्वपूर्ण खेलाडी प्रभातका शुसान्त उराव र बढी स्कोर गर्ने हिमालयन मेघा एकाडेमी धरानका सङ्गम ठाकुर घोषित हुदै पुरस्कृत भए । प्रतियोगितामा विजेत, उपविजेत खेलाडीहरुलाई प्रमुख अतिथि एवं प्रदेश सांसद पाँचकर्ण राई, सांसद विजय राई, बस्केटवल संघका अध्यक्ष नारायण सुवेदीलगायतले पुरस्कार वितरण गरेका थिए ।

कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरिएको यो प्रतियोगितामा मोरङ, सुनसरी र झापाकागरि १६ विद्यालयलले भाग लिएको थियो । यो प्रतियोगिता विद्यालयका पूर्व अध्यक्ष तथा डिपोट सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवण कुमार लिम्बुको स्मृतिमा आयोजना भएको हो । संस्थापक अध्यक्ष लिम्बूले विद्यालयको नेतृत्व गरिरहेकै बेला कोरोना महामारीमा २०७८ साल साउन १५ गते निधन भएको थियो ।







