धरान: साउन २२ गते एकैठाउँ भानुचोकमा किरात याक्थुङ चुम्लुङले स्मरण दिवस र किरात राई यायोक्खाले स्थापना दिवस (दिपावली) कार्यक्रम गर्ने भएपछि बुधबार धरानमा सुनसरीका सिडिओसहित जिल्ला सुरक्षा समितिको बैठक बसेको छ । 

पछिल्लो समय विजयपुर दरबार क्षेत्रमा चिण्डोको विवादले राई र लिम्बू समुदायबीच असमझदारी पैदा भएको अवस्थामा दुई समुदायको एकैदिन र एकै क्षेत्रमा कार्यक्रम हुने भएपछि अप्रिय घटना हुन नदिन धरानमा सुरक्षा बैठक भएको हो । सुनसरीकै कप्तानगंजमा हिन्दु र मुश्लिम समुदायबीचको साम्प्रदायिक हिंसा भड्किएकोले पनि सुनसरी प्रशासनले साउन २२ गतेको कार्यक्रमप्रति गम्भीर चिन्ता एवं चासो दिएर सुरक्षा बैठक गरेको हो । 

बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्याल, एसपी पुष्पराज मल्ल, सशस्त्रका एसपी लव सापकोटा, नेपाल आर्मीको भगवती दल गणको गणपति राजन भुजुसमेतको सहभागीता थियो । प्रजिअ अर्यालसहितको टोलीले धरान उपमहानगरपालिकामा पहिलो चुम्लुङसहित विजयपुर दरबार संरक्षण संघर्ष समितिसँग छलफल गरेपछि यायोक्खासँग छुट्टै छलफल गरेको थियो । 

बैठकपछि संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै प्रजिअ अर्यालले दुवै पक्षले आआफ्नो कार्यक्रम समय मिलाएर गर्ने समझदारी भएको बताए । ‘उहाँहरुले समय छुट्टाछुट्टै समय मिलाएर गर्नुहुन्छ । एउटा पक्षको त्यहाँ दिउँसो भेला भएर कार्यक्रम गर्ने र अर्को पक्षले बेलुका दिप प्रज्वलनको कार्यक्रम भएको हुनाले छुट्टाछुट्टै हुन्छ,’ प्रजिअ आर्यालले भने । 

कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले पनि बैठकमा दुवै पक्ष जिम्मेवार भएर प्रस्तुत भएको बताए । उनका अनुसार दिउँसो लिम्बुवान पक्षको स्मरण दिवस हुनेछ भने साँझ यायोक्खाको दिप प्रज्वलन कार्यक्रम हुनेछ । सुनसरीका एसपी मल्लले पनि कार्यक्रमस्थल एकै ठाउँ भएपनि दुवै पक्षले आआफ्नो समय सिमाभित्र रहेर सौहार्दपुर्णरुपमा छुट्टाछुट्टै गर्ने भएकोले सुरक्षाको समस्या नहुने बताए । 

'चुम्लुङ र यायोक्खा बीच १७ गते नै समझदारी भएको थियो

विजयपुर दरबार क्षेत्र संरक्षण संघर्ष समितिका संयोजक अमित थेवेका अनुसार विजयपुरमा वावु (चिण्डो) को विवाद र पछिल्लो समय कप्तानजंग घटनाको कारण प्रशासनलाई धरानमा पनि सुरक्षा चिन्ता भएकोले सुरक्षा बैठक भएको हो । तर उनले साउन १७ गते नै यायोक्खा र चुम्लुङ, संघर्ष समितिका प्रतिनिधिहरुको समन्व बैठक बसेर छुट्टा छुट्टै समय तालिकामा कार्यक्रम गर्ने समझदारी भैसकेको पनि जानकारी दिए । 

‘प्रहरी प्रशासनलाई एकै ठाउँमा कार्यक्रम हुदा द्धन्दमा जान्छ कि भन्ने चिन्ता रहेछ, तर हामीले १७ गते नै समयको बारेमा समझदारी गरिसकेका थियौं,’ थेवेले भने,‘अहिलेको परिस्थिति हेरेर हामीले पनि विजयपुरमा नगरी भानुचोकमा १ बजदेखि ५ बजेसम्म कार्यक्रम सकेर खोली गर्ने र त्यसपछि यायोक्खाको दिप प्रज्वलन कार्यक्रम गर्ने भन्ने समझदारी हो ।’

उक्त कार्यक्रम चुम्लुङको समन्वयमा लिम्बुवानजन्य राजनीतिक संगसंगठन, सामाजिक तथा थरगत संघसंस्थाहरुको सहभागितामा हुनेछ । विगतका बर्षहरुमा साउन २२ गतेलाई कालो दिनकोरुपमा लिम्बूवानजन्य केही राजनीतिक दलहरुले मनाउदै आएका थिए । यो बर्ष भने साउन २२ लाई स्मरण दिवसकोरुपमा मनाइने पनि थेवेले जानकारी दिए । वि.स.१८३१ साउन २२ गते तत्कालिन गोर्खा राज्य (नेपाल) विस्तारको क्रममा अरुण पूर्व लिम्बुवानसँग सम्झौता गरेर नेपालमा गाँभेको दिनकोरुपमा इतिहासमा दर्ज गरिएको छ ।

यायोक्खाको बिहान रक्तदान, साँझ दिप प्रज्वलन

यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईका अनुसार साउन २२ गते यायोक्खाको स्थापना दिवस भएकोले बिगतका बर्षहरुमा जस्तै मनाउने तयारी छ । यसपाली पनि ३९ औं स्थापना दिवसमा विगतभमा जस्तै बिहान यायोक्खा सुनसरीको यलम्बर स्मृति संग्रहालयमा रक्तदान कार्यक्रम हुनेछ भने साँझ भानुचोकमा ढोलझ्याम्टासहित दिप प्रज्वलन कार्यक्रम हुने अध्यक्ष राईले बताए । 

उनले पनि यायोक्खा र चुम्लुङ दुवै संस्थाबीच सौहार्दपुर्णरुपमा संवाद भइरहेको र साउन २२ गतेको कार्यक्रमबारे समझदारी भएको बताए । ‘प्रहरी प्रशासनलाई सुरक्षा चिन्ता भएको हो, तर यहाँ त्यस्तो समस्या छैन,’ उनले भने,‘चुम्लुङको कार्यक्रम १ बजेदेखि ४ बजेसम्म गरेर ५ बजेसम्म खाली गर्ने र त्यसपछि यायोक्खाले दिप प्रज्वलन गर्ने भन्ने समझदारी थियो, आज त्यही कुरा सुरक्षा बैठकमा गर्यौं । सबै संयमित भएर नै कार्यक्रम हुन्छ ।’