धरान: बिहिबार (भोली) हुन लागेको नगरसभा अघि आज (बुधबार) दिउँसो २ बजेको लागि आह्वान गरिएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्न सकेन । 

साउन २२ गते किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङको एकैठाउँमा कार्यक्रम हुने भएपछि सुनसरीका प्रजिअसहितको सुरक्षा समितिको बैठकको कारण कार्यपालिका बैठक बस्न नसकेको हो । वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरु बैठकको लागि निर्धारित समयमा उपमहानगरपालिकामा पुगेपनि सुरक्षा बैठक लम्बिएको कारणले कार्यपालिका बैठक हुन नसकेको प्रवक्ता एवं वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए । 

प्रवक्ता भट्टराईका अनुसार अब कार्यपालिका बैठक भोली (बिहिबार) बिहान ९ बजेको लागि आह्वान गरिएको छ भने नगरसभा त्यसपछि हुनेछ । ‘कार्यपालिका बैठक अघि बिहान ७ बजे बजेट तर्जुमा समितिको बैठक बस्छ,’उनले भने ।

यसअघिको कार्यपालिका बैठकले नगरसभा साउन २१ गते गर्ने मिति तोकेको थियो । तर, तर्जुमा बैठकले स्रोतहरु सुनिश्चित गर्न साथै बिषयगत समितिहरुको बैठकले पनि पारित गर्न बाँकी रहेको थियो । वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले बिषयगत समितिहरुको बजेटबारे आर्थिक विकास समितिबाहेकको कुरा मिलिसकेको र खेलकुदको केही परिमार्जन गर्नुपर्नेबाहेक र केही वडाहरुको सिलिङ पनि साँझसम्म आउने जानकारी भएकोले बिहिबार बिहान कार्यपालिका बैठक बसेर त्यसपछि नगरसभा हुने बताए । धरान उपमहानगरले विवादको कारणले कानुनले निर्धारण गरेको समयभित्र बजेट ल्याउन सकेको छैन ।