धरान: कार र मोटरसाइकलमा गाँजा तस्करी गरिरहेको अवस्थामा प्रहरीले धरान १३ का एक युवासमित चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आज (शनिबार) बिहान करिब साढे ५ बजे बराहक्षेत्र चतरा सडकखण्डबाट कार र मोटरसाइकलमा गाँजा तस्करी गरिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको हो ।

गोप्य सुचनाको आधारमा बराहक्षेत्र नगरपालिका १ गुप्तबराहस्थित सडकखण्डबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले ४१८ केजी गाँजा २२ वटा प्लाष्टिकको पोकामा प्याक गरेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पक्राउ पर्नेहरुमा प्र.१-०२-००२ च। ४८५१ नम्बरको कारका चालक धरान १३ का ३४ बर्षीय थमन राई, कारमा सवार ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नं. ५ का २२ बर्षीय जिबनी राई रहेका छन् । यस्तै, को. ११ प. ५६०१ नम्बरको मोटरसाईकल चालक मोरङ कटहरी गाउँपालिका वडा नं.३ निवासी २६ बर्षीय अमर कामत र पछाडी सवार सोही ठाउँका ३८ बर्षीय शंकर चौधरी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

उनीहरु बराहक्षेत्र मन्दिरतर्फबाट चतरातर्फ आउदै गरेको बेला प्रहरीले चेकजाँच गर्दा गाँजा फेला परेपछि पक्राउ गरेको हो । चारै जना र उनीहरु सवार कार, मोटरसाइकललाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीले जनाएको छ ।

ब्राउन सुगरसहित धरान ११ बाट तीन युवा पक्राउ, एक फरार

brown sugar

प्रहरीले आजै बिहान धरान ११ रिटिङ टोलबाट एक युवतीसहित तीन जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । रिटिङ टोलस्थित कृष्ण राईको घरमा लागूऔषध कारोवार भईरहेको सूचनाको आधारमा अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी टोली आएको देखेर कृष्ण राई भागेका थिए भने उनको घरमा बसिरहेका धरान ११ का ३२ बर्षीय उमेश कार्की, ३३ बर्षीय रुद्र मगर र वडा १६ बस्ने २४ बर्षकी स्वस्तिका गुरुङ भने पक्राउ परेका छन् । उनीहरुको साथबाट ब्राउन सुगर ०.९३ ग्राम अर्थात नौ सय तीस मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको जनाएको छ । साथै, साथै फरार भएका कृष्ण राईको पनि खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।