तस्बिर स्रोत: इकान्तिपुर

काठमाडौः कोरोना भाइरस रोग २०१९ (कोभिड १९)को प्रभाव क्षेत्रमा पर्ने चीनको हुबेई प्रान्तबाट १७५ जना नेपाली स्वदेश फिरेका छन् ।

उनीहरुलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमान पठाएर सरकारले उद्धार गरेर नेपाल ल्याएको हो । उद्धार गरिएका मध्ये १७० जना विद्यार्थी छन् भने एक जना कामदार र पर्यटक तथा बालबालिका दुई–दुई जना रहेका छन् । हुबेईमा कुल १८५ जना नेपालीले घर फर्कन बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए । तीमध्ये चार जनाले उतै बस्ने निर्णय गरेको दूतावासले जनाएको छ । अरू छ जना फर्कन पाएनन् । दूतावासका अनुसार चार जना ज्वरो देखिएकोले र दुई जना उनीहरूको परिवारका सदस्य हुनाले उड्न नपाएको हो । घर फर्कने टोलीमा १३४ पुरुष र ४१ महिला छन् ।

korona-buhan

 नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी विमान करिब १० बजे (नेपाली समय राति करिब ८ बजे) वुहानको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । नेपाली नागरिकहरु लिएर उडेको विमान विहान ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । उद्धार गरि ल्याइएकाहरुलई क्वारेन्टाइनमा १४ दिनदेखि २१ दिनसम्म राख्नुपर्ने हुन्छ । उनीहरुलाई राख्नको लागि सरकारले खरीपाटीमा छुट्टै व्यवस्था गरेको छ ।

माघ १ गते पहिलो पटक विश्व स्वास्थ्य संगठनले जेनेभास्थित आफ्नो मुख्यालयमा पत्रकार सम्मेलन गरी चीनमा देखिएको नयाँ प्रकारको भाइरस विश्वभर फैलन सक्ने खतरा रहेको जानकारी दिएको थियो। त्यसको १७ दिनपछि कोरोनाको संक्रमण पूरै चीनभर र विश्वका कैयौं देशमा देखिएको भन्दै विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकालको घोषणा गरेको थियो। अहिले यो भाइरसको संक्रमण २९ देशमा देखिएको छ । यो भाइरसको संक्रमणका कारण विश्वभरमा एक हजार ५२७ जनाको मृत्यु भइसकेको छ भने ६७ हजार १९२ जना यसबाट संक्रमित भएको पुष्टि भएको छ। ८ हजार ५९४ जना भने संक्रमणको उपचारपछि निको भएका छन् ।