एजेन्सी: कोरोना भाइरसको सङ्क्रमणबाट युरोपमा पनि एकको मृत्यु भएको छ ।  समाचार एजेन्सीहरुका अनुसार मृत्यु फ्रान्समा भएको हो ।

कोरोनाभाइरस सङ्क्रमणका कारण एशियाबाहिर मृत्यु भएको यो पहिलो घटना हो । मृतक पनि चिनिया पर्यटक भएको बताइएको छ । मृतक चीनको हुबे प्रान्तकी ८० वर्षीय पुरुष भएको फ्रान्सका स्वास्थ्यमन्त्री आनियास बिजाँले बताइन् । उनी १६ जनवरीमा फ्रान्स आइपुगेको र २५ जनवरीका दिनदेखि क्‍वारन्टीनमा राखिएको उनले बताइन् । मृत व्यक्तिकी छोरी पनि सङ्क्रमित रहेको स्वास्थमन्त्री बीजाँले बताइन् । उनी सञ्चो हुने क्रममा रहेको विश्वास राखिएको छ । फ्रान्सले यसअघि आफ्नो देशमा कोरोनाभाइरस सङ्क्रमित ११ जना रहेको बताएको थियो।

मुख्यभूमी चीनबाहिर जम्मा तीनजनाको मृत्यु भएको थियो । हङकङ, फिलिपिन्स र जापानमा एक(एक जना सङ्क्रमितको मृत्यु भएको थियो । चीनभित्रै हालसम्म १५०० जना भन्दा बढी मानिसको मृत्यु भएको छ । सङ्क्रमण उत्पत्ति भएको मानिएको हुबे प्रान्तमा सबभन्दा धेरै मानिसको मृत्यु भएको छ । चीनमा हालसम्म कुल सङ्क्रमितको सङ्ख्या ६६ हजार भन्दा बढि पुगेको छ ।कोरोना भाइरसलाई औपचारिकरूपमा कोभिड(नाइन्टिन १९) भन्न थालिएको छ । चीनबाहिर अहिलेसम्म २४ मुलुकमा ५०० भन्दा बढी सङ्क्रमित भएका छन् ।

coronavirus 1