धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को १ नम्बर प्रदेश कमिटिमा धरानका ४ जना नेतासहित कुल २१ सदस्य थपिएका छन् ।

प्रदेश कमिटिको पदाधिकारी बैठकले सदस्यमा मनोनित गरेका २१ जनाको नाम केन्द्रबाट अनुमोदन भएको हो । प्रदेश सदस्यमा मनोनित हुनेहरुमा सबैभन्दा धेरै सुनसरी जिल्लाका नेताहरु छन् । ती मध्ये ४ जना धरानमा हुन् । धरानबाट मुरारी सुवेदी, संघीय सांसद जयकुमार राई, प्रदेश सांसद सावित्री श्रेष्ठ र जसकुमार राई हुन् । मुरारी, जयकुमार र सात्रिवी साविक नेकपा(एमाले)का नेताहरु थिए भने जसकुमार माओवादी जनयुद्धमा होमिएका नेता हुन् । पार्टी विभाजनपछि विप्लव समुहमा रहेका उनी पछिल्लो समय विप्लव समुहलाई परित्याग गरेका थिए । ‘प्रदेश पदाधिकारी बैठकले मनोनित गरेको नामलाई केन्द्रले स्वीकृत गरेको हो,’नेकपा प्रदेश कमिटि सदस्य तथा जिल्ला सचिव रमेश बस्नेतले भने ।

नेकपाको प्रदेश कमिटि २ सय ७ सदस्यीय थियो । अब २१ जना सदस्य थपिएर २ सय २८ जनाको भएको छ । प्रदेश कमिटिको पुर्ण बैठक आज झापाको विर्तामोडमा हुदैछ । उक्त बैठकमा सहभागी हुन प्रदेश इञ्चार्ज, सहइञ्चार्जसहित पदाधिकारी तथा सदस्यहरु विर्तामोडतर्फ गइरहेका छन् । प्रदेश कमिटिको पुर्ण बैठक आज एक दिन बस्ने र भोली मंगलबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना हुने बस्नेतले जानकारी दिए । ‘आजको बैठकमा पार्टी एकीकरण प्रक्रियालाई अन्तिमरुपम दिने गरि जिम्मेवारी बाँडफाट, कार्यालय, सचिवालय गठन, विभाग प्रमुख तोक्ने, सल्लाहकार परिषद, निर्वाचन क्षेत्र इञ्चार्ज तोक्ने, राष्ट्रव्यापी अभियानको तयारीलगायत एजेण्डाहरुमा छलफल हुनेछ,’नेता बस्नेतले भने ।