धरान: ५५ किलोमिटर दुरी पार गर्न कति समय लाग्ला ? त्यो पनि समथर ठाउँमा होइन । धनकुटादेखि धरानसम्मको उकालो ओरालो बाटोमा खुट्टाको मद्दतले ।

यो बाटोमा उहिल्यै हाम्रा अघिल्लो पुस्ताले त भारी बोकेर नै पार गरेका हुन् । त्यो समयमा पैदल हिड्नु बाध्यता थियो । तर, अहिले यातायातको साधन छन् । हिड्नुपर्ने बाध्यता छैन । तर, धनकुटाका देबिन्द्र खेवा लिम्बू (डेबिट)ले धनकुटाबाट धरानसम्मको ५५ किलोमिटर दरी ५ घण्टामा पुरा गरेपछि अहिले उनको चर्चा छ ।

डेबिटले शनिबार(फागुन १७ गते) बिहान ५ बजेर ४० मिनेटमा धनकुटाबाट दौड शुरु गरे । उनी बिहान १० बजेर ४० मिनेटमा धरान आइपुगेका थिए । उनलाई धरानबाट स्वागत गर्न कुमार प्रधान कल्पित पनि दौडेर नै भेडेटारसम्म पुगेका थिए । धरानमा उनलाई स्वागतसँगै सम्मान पनि गरिएको थियो । डेबिटलाई धनकुटा जिल्ला अस्पतालको एम्बुलेन्सले सहयोग पनि गरेको थियो । दौडमा उनलाई छितिज राई,अभिषेक राई,गोपाल योगी,बलराम संयक लिम्बु, पुर्ण याक्खा, पुर्व प्रहरी सहायक निरीक्षक डम्बरबहादुर कटुवाल,प्रहरी जवान कमल भण्डारीले पनि साथ दिएका थिए।

प्रहरीको जागिर छोडेर विदेश भासिएका डेबिट

डेबिट उपनामले परिचित देबिन्द्र खेवा लिम्बु धनकुटाको हात्तिखर्क(हाल छथर गाउँपालिका) १ का हुन् । उनी हाल भने धनकुटा जिल्ला किरात चोक ७ मा बस्छन् । उनी बैदेशिक रोजगारीको क्रममा बहराइनमा छन् । उनी अहिले भने बिदामा घर आएका हुन् । उनी करिब १४ बर्ष अघि नेपाल प्रहरकिो जागिर छोडेर विदेशिएका थिए । बहराइनमा उनी जिफोरएस कम्पनीमा सेक्युरिटीमा कार्यरत छन् ।

बहराइनमा पनि विभिन्न दौड प्रतियोगिताहरुमा उनी नियमित भाग लिन्छन् । थुप्रै पदक पनि जितेका छन् । उनले ५५ किलोमिटरको दुरी ४ घन्टा ३० मिनेटमा पुरा गर्ने लक्ष्य राखेका छन् । प्रायोजक भेटेमा उनी सातै प्रदेशमा दौडिने आफ्नो योजना रहेको पनि उनले बताए । 'स्वास्थ्यको लागि दौडन अति आवश्यक छ,'उनी भन्छन् ।