धरान: कोरियाबाट आएर टेकु अस्पताल, काठमाण्डौंमा उपचाररत अवस्थामा अचानक हराएका विरामी धरानका भएको खुलेको छ ।

अस्पतालबाट भागेर धरान घर आएका उनी उपचारको लगि अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफै भर्ना भएका छन् । इलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएसपी ढुण्डीराज न्यौपानेले टेकु अस्पतालबाट अचानक हराएको भनिएका व्यक्ति वीपी प्रतिष्ठानमा भर्ना भएर उपचार भइरहेको बताए । ‘टेकुमा उपचार हुदाहुदै आफै हिडेको रहेछ, आज घर आएपछि परिवारसँग वीपीमा उपचार गर्न गएका रहेछन्,’डिएसपी न्यौपानेले भने,‘आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।’

धरान १० घर भएका ४९ बर्षीय ती व्यक्ति २० गते मंगलबार दक्षिण कोरियाबाट नेपाल आएका थिए । नेपाल आएको भोलीपल्ट २१ गते बुधबार उनी आफै उपचार गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुगेका थिए । कोरियाबाट आएका हुनाले चिकित्सकहरुले उनलाई आइसोलेसन वार्डमा राखेर उपचार गराइरहेको थियो । उपचार हुँदा हुँदै उनी अस्पतालबाट कसैलाई पत्तो नदिई हिडेपछि हल्लीखल्ली भएको थियो ।

उनलाई कोरोना भएको पुष्टि भइसकेको छैन । तर, कोरियाबाट आएका हुनाले उनी हराएपछि हलचल मच्चियो । उनी विराटनगर एयरपोर्टमा आज बिहिबार १ बजे ल्याण्ड गरेर घर आएका थिए । प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.विकास साहले टेकुबाट हराएको विरामी प्रतिष्ठानमा उपचार भइरहेको पुष्टि गरे । ‘टेकुबाट हाम्फालेर हिडेका रहेछन्, यहाँ आफै उपचार गर्न आएका थिए । हामीलाई शंका लागेर टेकु बुझ्दा उनी नै रहेछन्,’डा.साहले भने,‘हाम्रो आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरेका छौं ।’