धरान: कोरोनाको आशंकामा टेकु अस्पतालमा उपचार भइरहदा भागेर धरान घर आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका विरामी यहाँबाट पनि भागेका छन् ।

प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचार भइरहेको अवस्थामा उनी बिहिबार राती भागेका थिए । वीपीबाट भागेपछि अस्पतालमा फेरि पनि हलचल मच्चियो । उनी भागेको करिब एक घण्टा पछि प्रहरीले फेला पारेर पुनः प्रतिष्ठानमा नै उपचारको लागि ल्याएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । ‘टेक अस्पतालबाट भागेर धरान आएपछि आफै अस्पताल पुगेका थिए, वार्डमा राखेर उपचार भइरहेको बेला फेरि भागेछ,’डिएसपी न्यौपानेले भने,‘अहिले अस्पतालमा राखिएको छ ।’

प्रतिष्ठान स्रोतका अनुसार कोरोनाका शंकास्पद विरामीको लागि व्यवस्था गरिएको पेइङ वार्डमा राखेर उनलाई उपचार भइरहेको थियो । टेकुबाट भागेर आएपनि यहाँ उनी आफै उपचार गर्न आएकोले भाग्ने अनुमान थिएन । पेइङ वार्डलाई आइसोलेसन गरेर एउटा मात्र ढोका आउजाउ गर्न खुला गरिएको थियो भने बाहिर सेक्युटिरी गार्ड पनि थिए । ‘गार्ड पनि बाहिरै थिए, तर पनि छलेर भागेछन्,’स्रोतले भन्यो,‘एक घण्टा पछि प्रहरीले खोजेर ल्यायो ।’

उनी मंगलबार मात्र दक्षिण कोरियाबाट नेपाल आएका थिए । बुधबार आफै टेकु अस्पताल उचपारको लागि पुगेका उनी त्यहाँबाट भागेर घर धरान आएका थिए । उनलाई कोरोनाको लक्षण वा पुष्टि भएको छैन । प्रतिष्ठानका एक चिकित्सकले ती विरामीलाई कोरोना भन्दा पनि मानसिक समस्या भएको हुनसक्ने बताए । ‘उनको यी सबै गतिविधि हेर्दा उनलाई कोरोना भन्दा पनि मानसिक समस्या हो कि भन्ने छ, शुक्रबार मानसिक चिकित्सकबाट उपचार हुन्छ,’स्रोतले भन्यो ।