धरान: हरेक बर्ष फागु पुर्णिमा अर्थात होलीको दोस्रो दिन धरानको भानुचोकमा भव्य स्टेज बन्थ्यो, र सांगीतिक कार्यक्रमसहित भव्यरुपमा होली हंगमा हुन्थ्यो । त्यहाँ धरानभरिका युवायुवतीहरु अरिब मात्र होइन, कुखुराको अण्डा पनि एकअर्काको टाउकोमा फुटाउन तछाडमछाड गर्थे । पसल बन्द हुन्थ्यो भने गाडीहरु पनि कमै मात्र चल्थे । प्रहरीलाई भिड नियन्त्रण गर्न हम्मे पथ्र्यो ।

भानुचोकमा मात्र कहाँ हो र !? करिब ३ सय मिटर पर्तिर माछा भौडीमा पनि स्टेजसहित होली कार्यक्रम भव्य हुन्थ्यो । अरु चोक चोकमा पनि नाचगानसहित होलीमा धरानेहरु मस्त हुन्थे । युवायुवतीहरु अनुहारमा अनेक रंग पोतेर, विभिन्न आकृतिको मास्क लगाएर हिड्थे । तर, आज धरानमा यस्तो होली कार्यक्रम देखिएको छैन । भानुचोक अरु दिनजस्तै सामान्य छ भने अन्य चोकहरु र मानिसहरुको दैनिकी पनि सामान्यरुपमा नै चलिरहेको छ । यसको मुख्य कारण हो, विश्वव्यापीरुपमा फैलिइरहेको कोरोना भाइरस(कोभिड १९)।

dharan-bajar

नेपाल सरकार र स्थानीय प्रशासनले पनि कोरोना संक्रमण फैलिन नदिन भिडभाड हुने कार्यक्रमहरु नगर्न तथा होली पनि विगतमा जस्तो नमनाउन आग्रह गरेकोले यसपाली होलीमा धरान सुनसान देखिएको हो । रंग, अबिर लगाएको मानिसहरु पनि सडकमा देखिएको छैन । ‘पहिला त भानुचोकमा, घण्टाघरभित्र होली खेल्नेहरुको भीड हुन्थ्यो, आज त त्यस्तो देखिएन,’घण्टाघरका कर्मचारी राजा सुब्बाले भने ।

ईलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएसपी ढुण्डीराज न्यौपानेले पनि धरानमा विगतमा जस्तो चोकहरुमा यसपाली समुह बनाएर होली खेलेको नभेटिएको बताए । आफु एक चरण घुमीसक्दा कही पनि समुहमा नभेटिएको उनले बताए । ‘एक राउण्ड घुमिसके, कही देखिएन । फेरि नि जान्छु,’उनले भने । 

व्यापारमा पनि मन्दी

holi-dharan 1

विगतमा होली नजिकिदै गर्दा ह्यापी होली लेखिएको टि सर्टहरुको खुब व्यापार हुन्थ्यो । युवायुवतीहरु होलीको दिन त्यही टि सर्ट लगाएर होली खेल्न निस्कन्थे । यस्तै, होलीमा प्रयोग हुने सामान(पिचकारी)हरुको पनि व्यापार धेरै हुन्थ्यो भने होलीको दिन अबिर र अण्डाको व्यापार उस्तै गरि हुन्थ्यो । तर, यसपाली होलीमा व्यापार विगतको जस्तो नभएको व्यापारीहरु बताउँछन् ।

 धरान १२ स्थित आयुष कलेक्सनका प्रोपाइटर परमानन्द साहका अनुसार कोरोनाले होली प्रभावित हुने भएपछि विगतमा जस्तो व्यापार हुन सकेन । विगतमा होलीको बेला ३ सयको हाराहारीमा बिक्री हुने टि सर्ट यसपाली ३० वटा जति मात्र बिक्री भएको उनले बताए । ‘व्यापार हुदैन होला भनेरै मैले टि सर्ट कम मगाए, बिक्री पनि थोरै नै भयो,’उनले भने,‘धेरै मगाउनेहरुलाई चै घाटा नै भयो ।’

dharan-bhanu-chowk1 dharan-buspark dharan