धरान: होली पर्व नेपालमा धुमधामसँग मनाइने गरिन्छ । अझ धरानमा त चोक चोकमा स्टेज बनाएर सांगीतिक कार्यक्रमसहित मनाउने चलन छ । यसपालीको होलीमा भने धरानमा पनि रौनक हुने छैन ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)को कारणले सरकारसँगै प्रहरी प्रशासनले पनि भिडभाड हुने तथा ठुला जमघट हुने कार्यक्रमहरु नगर्न आह्वान गरेसँगै होली पर्व पनि प्रभावित हुन पुगेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले विगतमा धरानमा विगतमा जस्तो यसपाली भव्यरुपमा नमनाउन सर्वसाधारणहरुमा आग्रह गरेका छन् । सरकारसँगै जिल्ला सुरक्षा समितिले होलीलाई हर्षउल्लासका साथ मनाउने भन्दा पनि सुरक्षितरुपमा मनाउने निर्णय भएकोले सार्वजनिक स्थान र चोकहरुमा नमनाउन डिएसपी न्यौपानेले आग्रह गरे ।

holi-dharan

धरानको भानुचोकमा गत बर्ष २०७५ सालको होलीमा रमाउदै युवायुवतीहरु ।

उनले प्रहरीले यसबारेमा माइकिङ गरिरहेको जानकारी दिदै सार्वजनिक ठाउँमा खेलेको पाइएमा सुरक्षाको दृष्टिले अनुरोध गर्दै नखेल्ने वातावरण बनाउने बताए । ‘घरमा बसेर आफन्तहरुसँग खेल्न सक्नुपर्छ । रंग दल्नु, पानी छ्याप्नु भन्दा पनि घरपरिवार बसेर मनोरञ्जनको क्रियाकलाप गरेर होली मनाइदिन सबैमा अनुरोध गर्छु,’डिएसपी न्यौपानेले भने,‘सार्वजनिक ठाउँमा खेलेको भेटिए नखेल्न अनुरोध गछौं, र अहिलको परिस्थिति हेरेर पक्कै मान्नुहुन्छ । यसपाली विगतमा जस्तो मनाउन नपाए पनि अर्को साल राम्ररी मनाउन अपेक्षा राख्दै सबैले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा गर्छु ।’ उनले होलीको सुरक्षाको लागि चोक चोकमा प्रहरी जनशक्ति खटिएको र उनीहरुले होली खेल्नेहरुलाई सम्झाउने पनि बताए ।