धरान: विश्वव्यापी बन्दै गएको कोरानो भाइरस(कोभिड १९) को संक्रमण फैलिन नदिन र शंकास्द विरामीको पहिचानको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले हेल्प डेस्कसहितको बिशेष तयारी गरेको छ ।

प्रतिष्ठानले आज बिहिबारदेखि प्रतिष्ठानको जिओपिडी भवन अघि हेल्प डेस्क सञ्चालनमा ल्याएको हो भने आइसोलेसन वार्डमा चौबिसै घण्टा डिउटी रहने गरी सबै विभागका चिकित्सकहरुको रोष्टर बनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरका अनुसार हेल्प डेस्कमा कार्यालय समयमा चिकित्सकहरुको टोली रहनेछन् । त्यहाँ कोरोना प्रभावित देश वा क्षेत्रबाट १४ दिनभित्र आएका व्यक्तिहरुको बिशेष स्वास्थ्य जाँच गरिने पनि उनले बताए । ‘कोरोना प्रभावित देशबाट १४ दिनभित्र आएका मानिसलाई बिशेष तीन लक्षण छ छैन भनेर जाँच गरिन्छ,’उनले भने,‘खास गरी मानिसलाई ज्वरो छ कि छैन ? खोकी वा नाक बगेको छ कि छैन ? र स्वास फेर्न गाह्रो छ कि छैन ? भनेर हेरिन्छ ।’

सहप्रवक्ता डा.ऐनका अनुसार यी तीन लक्षण नदेखिएमा घर पठाइन्छ भने देखिएमा थप स्वास्थ्य परीक्षण गरिनेछ । यस्तै, आइसोलेसन वार्डमा पनि प्रतिष्ठानको सबै विभागको चिकित्सकहरु चौबिसै घण्टा आलोपालो डिउटीमा खटिनेछन् । ‘सबै विभागको डाक्टरहरुको सहभागितामा आइसोलेसन वार्डमा चौबिसै घण्टा डिउटी हुन्छ, कुन विभागको कहिले भनेर डिउटी रोष्टर निकालिएको छ,’डा.ऐरले भने,‘चौबिसै घण्टा ८÷८ घण्टाको सिफट्मा हुन्छ ।’

वायोमेट्रिक हाजिरी रोकियो

कोरोना संक्रमण हुन नदिन वीपी प्रतिष्ठानको वायोमेट्रिक हाजिरी तत्कालको लागि रोकिएको छ । संक्रमण हुन र फैलिन नदिन प्रतिष्ठानले यस्तो निर्णय गरेको हो । ‘संक्रमणको जोखिमबाट जोगिन वायोमेट्रिक हाजिरी रोक्ने निर्देशन दिइएको छ, अब सबै विभागमा नै हाजिरी खातामा हाजिर हुन्छ,’सहप्रवक्ता डा.ऐरले भने ।