विराटनगरः कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बच्न विराटनगरको रानी भन्सार नाका र विमानस्थलमा यात्रुको जाँचलाई निरन्तरता दिइएको छ ।

तीन दिनेदेखि विराटनगर विमानस्थलको स्वास्थ्य जाँचमा बाहिरबाट आएका यात्रुुको स्वास्थ्य जाँच भइरहेको छ । यात्रुु बहिर्गमन कक्ष र भिभिआइपी कक्षमा हात धुने सावुन पानीको व्यवस्था गरिएका छ भने शरीरको तापक्रम नाप्ने व्यवस्था गरिएको विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखाका कार्मचारी दीपक भट्टराईले जानकारी दिए ।

corona-test1

यता रानी भन्सार गेटमा समेत स्वास्थ्यकर्मीको टोली तैनाथ रहेको छ । भारतीय भुमिबाट रेल चढेर आउने यात्रुुलाई लक्षित गरेर विराटनगर महानगरपालिकाले हेल्थडेक्स राखेको छ । उनीहरुलाई प्रहरीको सहायताले अनिवार्य स्वास्थ्य जाँच गर्न लगाइन्छ । उच्च तापक्रम मापन गरे तुरन्त विराटनगरमा तैनाथ राखिएका आइसोलेटेड वेड भएको अस्पतालमा रेफरको व्यवस्था गरिएको स्वास्थ्यकर्मी दीलमाया परियारले जानकारी दिइन् ।

विराटनगर भन्सार कार्यालयमा अहिलेसम्म एक जना व्यक्तिलाई उच्च ज्वरो मापन गरिएको छ । उनलाई विराटनगरको कोशी अस्पतालमा उपचारका लागि पठाइएको छ भने विराटनगर विमानस्थलमा हालसम्म कसैलाई कोभिड १९ को आशंका गरिएको छैन । विराटनगरका कोशी अस्पतालसहित अन्य केहि निजी अस्पतालमा समेत गरि २८ वेडलाई विशेष कक्ष बनाइएको प्रदेश एक सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

corona-st