धरान: कोशी अस्पताल विराटनगरबाट धरान रेफर भए पनि घरमै क्वारेन्टाइनमा बस्ने भनेर गएका विरामी आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइपुगेका छन् ।

उनलाई हिजो नै कोशी अस्पताल विराटनगरले वीपीको आइसोलेसनमा रेफर गरिदिएको थियो । तर, उनी घरमा नै १४ दिन क्वारेन्टाइनमा बस्ने भन्दै घर गएका थिए । कोशीबाट कोरोना शंकास्पद विरामी धरान रेफर भएको समाचारहरु आएपछि प्रतिष्ठानले सोधखोज गर्दा पनि उनी घरमा नै क्वारेन्टाइनमा बस्ने खबर पाएको थियो । तर, उनी पुनः केही बेर अघि मात्र वीपी प्रतिष्ठान आइपुगेका छन् । ‘हिजो कोशी अस्पतालमा गएका रहेछन्, त्यहाँबाट घर बसेर अहिले वीपी आइपुगेका छन्,’प्रतिष्ठानको कोरोना र्यापिड रेस्पोन्ट टिममासमेत रहेका प्रतिष्ठानको इर्मेजेन्सी इञ्चार्ज प्रा.डा.ज्ञानेन्द्र मल्ले भने ।

प्रदेश १ सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहताले ती विरामीलाई हिजो नै वीपीमा जान राम्रोसँग सम्झाए पनि घरमै क्वारेन्टाइनमा बस्ने भनेर गएका थिए । अहिले वीपीमा पुगेको सुनेपछि उनले खुशी व्यक्त गरे । ‘हामीले हिजो नै राम्रोसँग सम्झाएका थियौं, घरमा नै क्वारेन्टाइनमा बस्नु भनेर गएका थिए,’डा.मेहताले भने,‘वीपीमा पुगेछन्, राम्रो नै भयो ।’

कोशी अस्पतालका डा.लक्ष्मीनारायण यादवका अनुसार ती विरामीमा सामान्य ज्वरो र रुघाखोकी मात्र थियो । तर, उनी ७ दिन अघि मात्र साउदी अरबबाट घर आएकोले १४ दिन वीपी प्रतिष्ठानको आइसोलेसनमा बस्न रेफर गरिएको उनले बताए । ‘आत्तिनु पर्ने केही थिएन । विदेशबाट आएकोले गर्दा मात्र १४ दिन क्वारेन्टाइनमा बस्न सल्लाह दिएका हौं,’डा.यादवले भने ।