धरान: फुटवल के को लागि खेलिन्छ ? जितेर ट्रफी, मेडल पाउन । तर खेल यतिमा मात्र सिमित हुदैन । फुटबल खेलेरै पनि समाजको लागि सहयोग जुटाउन सकिने रहेछ । यसको उदाहरण आज धरानमा भएको मैत्रीपुर्ण फुटबल खेल नै काफी छ ।

धरान १६ स्थित रंगशालामा एफसि गोर्खा भेट्रान युके र धरान भेट्रान फुटबल क्लबबीच आज शनिबार मैत्रीपुर्ण खेल भएको थियो । खेल भनेपछि हार र जित हुन्छ । तर, यो खेल हार र जितमा मात्र सिमित थिएन । यो खेलको उद्देश्य थियो, धरान १६ स्थित पुर्वाञ्चल बहिरा विद्यालय र सुस्त मनस्थिति बाल कल्याण विद्यालयलाई आर्थिक सहयोग जुटाउनु । पुर्वघोषणा अनुसार नै शनिबार एफसि गोर्खा भेट्रान युकेले दुवै विद्यालयलाई आर्थिक सहयोग पनि प्रदान गरेको छ ।

दुवै विद्यालयलाई क्लबले कुल ७ लाख २० हजार रुपैया प्रदान गरेको छ । एउटा विद्यालयले ३ लाख ६० हजारको दरले सहयोग पाएको हो । दुवै विद्यालय धरान १६ मा रहेको छ । अपांग विद्यार्थीहरु अध्ययन गर्ने दुवै विद्यालयलाई आर्थिक, भौतिकलगायत थुप्रै समस्या छ । गोर्खा भेट्रानले मैत्रीपुर्ण खेलको टिकट र आफ्ना सदस्यहरुको मद्दतले युकेबाट संकलन गरेको पैसा दुवै विद्यालयलाई बराबरी प्रदान गरेको एफसि गोर्खाका मेनेजर एवं पुर्व ब्रिटिश लाहुरे बद्रीकुमार सुनुवारले बताए ।

पुर्वाञ्चल बहिरा विद्यालयकी प्रिन्सिपल रेनुका बुढाथोकीले फुटबल खेलेर नेपालीहरुले नै सहयोग गरेकोमा खुशी व्यक्त गरिन् । विदेशीहरुले सहयोग गर्न आइरहेको बताउदै उनले नेपालीहरुले पनि फुटबल खेलेर सहयोग गरेको भन्दै आभार प्रकट गरिन् । सुस्त मनस्थितिकी प्रिन्सिपल आरती थापा कार्कीले पनि ठुलो सहयोग भएको भन्दै रकमको विद्यार्थी र विद्यालयको हितमा सदुपयोग गर्ने बताइन् ।

charity1 charity3 charity