धरान: धरान १९ निवासी शिव प्रधान करिब अढाई दशकअघि हङकङ गएका थिए । हङकङको ब्यस्त जीवनमा पनि उनले आफ्नो लेखन कार्यलाई छोड्न सकेनन् ।

उनी बिशेष गरी आख्यान(कथा) लेख्छन् । तिनै कथाकार प्रधानको तेस्रो कृतिकोरुपमा उपन्यास रुदिना अहिले बजारमा आएको छ । माघ २४ गते काठमाण्डौंमा विमोचन भएको यो उपन्यास आइतबार गृहनगर धरानमा पनि विमोचन गरिएको छ । क्लिकधरान डटकमको कार्यालयमा आयोजित कार्यक्रममा लेखक तथा उपन्यासकार प्रधानसँगै प्रमुख अतिथि एवं साहित्यकार, कवियित्री कुन्ता शर्मा, साहित्यकार शरण राई, साहित्यकार एवं पत्रकार प्रतिमा राई, पत्रकार सञ्जु राईले उपन्यास रुदिनाको होम लञ्च गरेका थिए ।

कार्यक्रममा उपन्यास रुदिनाबारे चर्चा गर्दै साहित्यकार कुन्ता शर्माले लेखक पुरुष भएर पनि महिलाको जीवनको क्रुर भोगाई, जटिलता, निराशा र कर्तव्यबोधलाई उपन्यासमा समेटेको भन्दै प्रशंसा गरिन् । उनले नारीप्रति संवेदनशिल र गहनरुपमा लेखिएको उपन्यासकोरुपमा रुदिनालाई चित्रण गर्दै भनिन्,‘संघर्षको कथा हो रुदिना । मजस्ता महिलाले पढ्यो भने आफै रुदिना भएको महशुस गर्छ । यो संसारमा रुदिना कति छन्, कति ।’

समाजमा महिलालाई सन्तान उत्पादनको साधन मात्र ठान्ने सोच भएको भन्दै साहित्यकार शर्माले महिलाको त्यस्तो जिवन पशुमा कुकुरले भोग जस्तो मात्र हुने टिप्पणी पनि गरिन् । उनले पात्रहरुको जिन्दगीमा गर्भवती मात्र धेरै बनाउन नहुने सुझाव दिदै भनिन्,‘महिला गर्भवती मात्र भइरहने हो भने कुकुर र मानिसको जिन्दगीमा फरक के भयो ? पात्रको जिन्दगी गर्भवती मात्र धेरै बनाउन हुन्न ।’

उपन्यास घोर निराशाको बीचमा पनि आशावादी भएको पनि शर्माले बताइन् । हङकङको जीवनशैली मात्र नभै इतिहास र भुगोलबारे पनि उपन्यास रुदिनाले छर्लङ्ग पार्ने उनको भनाई थियो । ‘उपन्यासको प्रस्तुतीले पाठकको ध्यान तान्छ, पठनीय कृति छ,’उनले भनिन् । उपन्यासबारे चर्चा गर्दै साहित्यकार शरण राईले उपन्यासको नाम नै नौलो भएकोले के छ भनेर कौतुहलता ल्याउने धारणा राखे । संघर्षशील आमा, महत्वकांक्षी महिला, श्रीमतिको कथा रुदिनामा भएको उनले बताए । ‘जीवनमा अनेक समस्याहरु आउछन्, तरक कहिल्यै हतास हुनुहुदैन । संघर्ष गर्नुपर्छ । रुदिना उपन्यास पढ्दा यही सन्देश पाइन्छ,’राईले भने ।

कार्यक्रम संयोजक एवं साहित्यकार प्रतिमा राईले उपन्यास रुदिना नारीप्रधान भएको धारणा राखिन् । उपन्यासले हङकङको उज्यालोसँगै अध्यारो पाटोलाई पनि देखाएको उनको भनाई थियो । ‘शिव प्रधान दाई धरानकै पानी पिएर, यहीँको माटोमा हुर्किनु भएको हो, त्यसैले उहाँको कृतिबारे साक्षात्कार गर्नुपर्छ भनेर यो कार्यक्रम गरिएको हो,’कार्यक्रम संयोजक राईले भनिन् ।

IMG_9275.psd

उपन्यास 'रुदिना'को लेखक शिव प्रधान।

उपन्यासकार प्रधानले भोजपुर, धरान, काठमाण्डौं हुदै आफु अढाई दशकअघि हङकङ पुगेको बताए । यसअघि छरिएको सिन्दुर र बहुलाईको यात्रा नामक दुई कथा संग्रह प्रकाशन भइसकेको जानकारी दिदै ती कथा संग्रहमा अधिकांश आफ्नै गाउँठाउँ र नेपालको परिवेशको कथाहरु लेखिएको बताए । एक कार्यक्रममा साहित्यकार परशु प्रधानले विदेशमा बस्दा नेपालको बिषय वस्तुमा कथा लेख्नु भन्दा यतै विदेशको कथा लेख्दा नयाँ स्वाद हुन्छ भनेर सुझाव दिएपछि रुदिना उपन्यास तयार भएको बताए ।‘यो उपन्यासको प्रमुख नारी पात्र छ, विदेश ठुलो सपना बोकेर गएका हुन्छौं तर त्यहाँ पुगेपछि कति चिजहरु भोग्नुपर्छ । त्यहाँको सुखसयल भोगेपनि फेरि किन नेपाल फर्किनुपर्छ ? भन्ने छ,’उनले भने ।

फोटोहरु: विकास चाम्लिङ राई

IMG_9268.psd IMG_9282.psd IMG_9280.psd IMG_9269.psd

IMG_9292.psd