धरान: नेपालमा सौन्दर्य प्रतियोगिताको सबैभन्दा भव्य र ठुलो प्रतियोगिता हो, मिस नेपाल । हिडन ट्रेजरले आयोजना गर्ने मिस नेपाल २०१९ को ताज अनुष्का श्रेष्ठले जितेकी थिइन् ।

आयोजक हिडन ट्रेजर पुनः नयाँ मिस नेपालको खोजीमा निस्किसकेको छ । विभिन्न स्थानमा अडिसन गर्दै आयोजकको टोली धरान आइपुगेको छ । धरानमा दुई एक दिनपछि अर्थात मंगलबार मिस नेपाल २०२० को लागि अडिसन हुदैछ । आयोजकले आइतबार धरानमा पत्रकार सम्मेलन गर्दै अडिसनबारे जानकारी दिएको हो । अडिसन मंगलबार गोर्खा डिपार्टमेन्ट स्टोरमा हुनेछ । 

अडिसनको लागि मिस नेपाल २०१७ की विजेता निकिता चण्दक र मिस नेपाल अर्थ २०२० विजेता रिया बस्नेत पनि धरान आइपुगेका छन् । मंगलबार हुने अडिशन चण्दक र बस्नेतले लिनेछन् । सोमबार धरानका विभिन्न कलेजहरुमा कार्यक्रमहरु गरिनेछ । केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार, युन एन कलेज, धरान सिटी कलेज, धरान मोडल कलेजमा विद्यार्थीहरुसँग अन्र्तक्रिया गर्दै निकिता र रियाले अडिसनबारे जानकारी दिनेछन् ।

 पुर्व मिस नेपाल चण्दकले तयारी नभएपनि अनुभवकै लागि अडिसनमा भाग लिन युवतीहरुलाई आह्वान गरिन् । उनले हरेक अनुभवले केही नयाँ कुरा सिकाउने पनि धारणा राखिन् । ‘भविष्यमा तपाईले जागिरको लागि अन्र्तवार्ता लिन जादै हुनुहुन्छ होला, त्यो भन्दा पहिला यसमा भाग लिन आउनुस् भन्न चाहन्छौं,’उनले भनिन् । क्षमता, प्रतिभा भए को कहाँको हो भन्ने कुनै फरक नपार्ने पनि उनले बताइन् ।

miss-nepal-2020

मिस नेपाल अर्थ बस्नेतले झापाको विर्तामोडमा भएको अडिसनको अनुभव सुनाउदै मिस नेपालको अडिसनमा कुनै डर वा संकोच नमानी सहभागी हुन आग्रह गरिन् । उनले आफ्नै उदाहरण दिदै मिस नेपालमा भाग लिनुअघि आफु पनि माइक नसमातेको र मासको अघि बोल्न डर लाग्ने गरेको बताइन् । ‘आफ्नो इच्छा छ भने आफनो बाटो आफै बनाउने हो । हामी पनि सामान्य नै हौं, तर अवसरलाई गुम्न दिएनौं,’उनले युवतीहरुलाई सन्देश दिदै भनिन्,‘तपाईहरु पनि अवसर गुम्न नदिनुस्, अडिसनमा आउनुसन् ।’