धरान:कोरोनाको संक्रमणबाट जोगिन उपयोगी हुने ह्याण्ड सेनिटाइजर उत्पादन गर्न धरानको वडाहरुमा सिकाउन थालिएको छ ।

धरान उपमहानगरपालिकाले केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँग सहकार्य गरेर वडाहरुमा पनि सेनिटाइजर उत्पादनको लागि प्रशिक्षण थालेको हो । धरानका मेयर तिलक राईले नगरबासीहरुलाई सुरक्षित गराउनको लागि सेनिटाइजर उत्पादनको तालिम दिइएको बताए । साथै, उनले शुक्रबारदेखि ११ स्थानमा हेल्थ डेस्क पनि राखिने बताए । 

तीन स्थानमा कार्यक्रम आयोजना गरि कोरोना भाइरसबारे सचेतना कार्यक्रम आयोजना गर्नुको साथै सेनिटाइजर उत्पादनबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनले भने,‘कोरोना भाइरस रोकथाम र नियन्त्रणको उपायहरु सिकाइन्छ । सेनिटाइजर कसरी बनाउने भनेर थ्योरी र प्राक्टिकल हुन्छ ।’

उपमहानगरका अनुसार तालिममा वडा कार्यालयले वडाको विभिन्न संघसंस्थाका अगुवाहरुलाई सहभागी गराएको छ । प्रत्येक वडाबाट १० जना तालिममा सहभागी छन् । पहिलो दिन बिहिबार बिहान गीता मन्दिरमा वडा १, २, ३, ७ र १२ को संयुक्त कार्यक्रम भएको थियो भने दिउँसो छ थरे समाजको भवनमा वडा ४, ५, ६ र १५ को संयुक्त कार्यक्रम भएको थियो । यस्तै, तेस्रो कार्यक्रम होटल व्यवसायी समितिको होटल कञ्चनजंघामा आयोजना भएको थियो ।

शुक्रबार केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा वडा १३, १४ र १६ को संयुक्त कार्यक्रम हुनेछ भने दिउँसो वडा ११, १७, १८ र २० वडाको संयुक्त कार्यक्रम वडा नं १८ कार्यालयमा हुनेछ । यस्तै, दिउँसो वडा ८, ९, १० र १९ को संयुक्त कार्यक्रम गोर्खा डिपार्टमेन्ट स्टोरमा हुने पनि मेहताले जानकारी दिए ।