धरान: धरान १३, फुस्रेस्थित सैनिक आवासिय महाविद्यालयमा ६२ बेडको क्वारेन्टाइन तयार गरिएको छ ।

महाविद्यालयका अनुसार धरानलाई लक्षित गरेर एउटा भवनलाई नै ‘आइसोलेट’ गरेर क्वारेन्टाइन तयार गरिएको हो । महाविद्यालयका प्रिन्सिपल निलमकुमार श्रेष्ठका अनुसार क्वारेन्टाइन बनाइएको भवन अलग्गै छ भने थप फेन्सिङ र काँडेतार गरेर उक्त भवनलाई सुरक्षित बनाइएको छ । स्कुल क्षेत्रलाई नै लकडाउन गरेर मानिसहरुको गतिविधि हुन नदिने तयारी पनि भइरहेको प्रिन्सिपल श्रेष्ठले बताए । ‘धरानको लागि ६२ बेडको क्वारेन्टाइन बनाइएको हो, पछि वृद्धि गरेर सय बेड पनि बनाउन सक्छौं,’प्रिन्सिपल श्रेष्ठले भने ।

army

क्वारेन्टाइनस्थलको आइतबार धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीसहित पुर्वी पृतना इटहरीका महासेनानी अनिल खड्का, इटहरी अस्पतालका प्रमुख एवं महासेनानी डा.सरिता केसी, वडा १३ का अध्यक्ष नेत्र काफ्ले र धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनालले अवलोकन गरेका थिए । क्वारेन्टाइनलाई थप कसरी व्यवस्थापन गर्ने भनेर छलफल गरिने पनि प्रिन्सिपल श्रेष्ठले बताए । ‘वडा १३, उपमहानगरपालिका, विपि प्रतिष्ठान, पृतनाले के के गर्ने ? भनेर कार्यविभाजन र उत्तरदायित्व वहनको बारेमा गृहकार्य गर्दैछों,’प्रिन्सिपल श्रेष्ठले भने,‘नेपाली सेनाले प्रत्येक आर्मी स्कुललाई क्वारेन्टाइनमा परिणत गर्ने भन्ने छ, त्यही अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत उपमहानगरपालिका र पृतनासँग सहकार्य गरिएको हो ।’

army4