धरान: फेसबुकमा साथी बनेका एक चिनिया आइतबार दिउँसो अचानक मोरङको भाउन्नेमा आइपुगे । उनी त्यहाँ पुगेपछि स्थानीयबासी त्रसित बने ।

चिनिया युवा आइपुगेको खबर प्रहरी प्रशासनमा पनि पुग्यो । त्यसपछि जनप्रतिनिधिसमेत मिलेर आइतबार साँझ नै ति चिनिया युवालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा ल्याइएको छ । ती युवाले आफुसँग स्वास्थ्य रहेको मेडिकल रिपोर्ट पनि भएको दाबी गरेका छन् । तर, त्यो रिपोर्ट चिनिया भाषामा भएकोले बुझिएको छैन । उनी करिब दुई साताअघि नेपाल आएको कारण डराउनु नपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

प्रतिष्ठानका अनुसार उनको थ्रोट स्वाब लिएर आवश्यक जाँचको लागि काठमाण्डौं पठाइनेछ । त्यसको रिपोर्ट नआएसम्म ती चिनियालाई प्रतिष्ठानमै राखिने अस्पताल सहायक निर्देशक डा.विकास साहले बताए । ‘९ तारिखमा नेपाल आएको भन्ने छ, अब केही दिन वीपीमा नै राख्छौं,’डा.साहले भने,‘स्वाबको रिपोर्ट आएपछि पठाउछौं ।’

चतरालाइनमा हिड्दै गर्दा पुनः पक्राउ

आइतबार साँझ वीपी प्रतिष्ठान ल्यााइएका चीनीयामा कुनै पनि लक्षण देखिएन । उनलाई टाँडीको क्वारेन्टाइनमा पठाउने तयारी थियो । तर, सोमबार बिहान ती चिनिया युवा धरानको चतरालाइनमा हिड्दै गरेको अवस्थामा भेटियो ।

उनलाई तत्काल पुनः प्रहरी, धरानका मेयरसहितको एम्बुलेन्सको टोलीले नियन्त्रणमा लिएर वीपी प्रतिष्ठानको आइसोलेसनमा पुर्यायो । ती चिनिया युवा प्रतिष्ठानबाट भोगेको बताइएको छ । तथापी, उनी कसरी बाहिरिए भन्ने खुलिसकेको छैन । उनलाई कुनै लक्षणहरु नदेखिएको कारण जोखिम नभएकोले छोडिएको हुनसक्ने बताइएको छ ।