धरान: लकडाउनको कारण समस्यामा परेको विपन्न परिवारलाई राहत दिने भन्दै व्यक्ति तथा संघसंस्थाहरुले जथाभावी राहत संकलन र वितरण कार्य गर्न थालेपछि धरान उपमहानगरपालिकाले कडाई गर्दै रोक लगाएको छ ।

लकडाउनमा पनि व्यक्ति र संघसंस्थाहरुले राहत संकलन गर्दै जथाभावीरुपमा वितरण गर्ने क्रम बढेपछि उपमहानगरपालिकाले यो कदम चालेको हो ।मंगलबार सुनसरी उद्योग वाणिज्य संघ र नेकपा धरानका पदाधिकारीहरुसँगको छलफल पछि उपमहानगरपालिकाले सुचना जारी गर्दै राहतको नाममा आर्थिक एवं खाद्यान्न संकलन र वितरण नगर्न भनेको छ । साथै, उपमहानगरपालिकाले राहत वितरणको लागि फुड बैंक स्थापना गरिसकेकोले सोही बैंकमा जम्मा गरिदिन पनि आग्रह गरेको छ ।

विभिन्न वडामा वडाअध्यक्षहरुले पनि आफु खुशी राहत वितरण भइरहेकोले त्यसलाई पनि रोक्न उपमहानगरले आग्रह गरेको छ । ‘हामीले विपन्न परिवारको लगत संलकन गर्न वडाहरुलाई भनेका छौं । फुड बैंक पनि स्थापना गरेका छौं । त्यसैले कसैले पनि राहत संकलन गर्न र वितरण नगर्न आग्रह गछौं,’मेयर तिलक राईले भने,‘सहयोग गर्ने हो भने फुड बैंकमार्फत नै गरौं, व्यवस्थित र पारदर्शिरुपमा गरौं ।’