धरान: लकडाउनको बेला पनि लुकिछिपी भारतबाट आएका सब्जी व्यापारीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

धरान १५ भानुमार्गका ती व्यापारीको हिजो सोमबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा थ्रोट स्वाबको नमुना लिइएको थियो । उक्त नमुनाको आज रिपोर्ट नेगेटिभ आएको हो । ‘उनको रिपोर्ट नेगेटिभ आएको छ,’प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले भने । प्रतिष्ठानमा अहिलेसम्म कुल १ सय ८७ जनाको स्वाब परीक्षण भइसकेको छ । ती सबैको रिपोर्ट नेगेटिभ आएको पनि प्रतिष्ठानले जनाएको छ । यस्तै, ४ जनाको स्वाबको परीक्षण हुन भने बाँकी छ ।

ती सब्जी व्यापारीलाई धरान १३ फुस्रेस्थित सैनिक आवासिय महाविद्यालयको क्वारेन्टाइनमा लगेर राखिएको छ । सब्जी व्यापारीले आफु हिड्दै धरान आएको बताएपनि उनी सब्जीको गाडीमा लुकेर राती धरान आएको अनुमान गरिएको छ । उनी सब्जी बजार पुगेपछि सञ्चालक समितिले घरमा क्वारेन्टाइनमा बस्न भनेर पठाइदिएको थियो । तर उनी क्वारेन्टाइनमा नबसेको र ज्वारो, पखला चलेको औषधी लिएको छरछिमेकले थाह पाएपछि कोरोना संक्रमणको त्रास फैलिएको थियो । त्यसपछि, उपमहानगरको पहलमा वडा नं १३ का अध्यक्षले उनलाई खोजी गरेर हिजो वीपी प्रतिष्ठानमा लगिएको थियो ।