धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाट जोगाउन धरानको सडकबाट उद्दार गरिएकाहरुलाई धरान ८ स्थित लांघाली सामुदायिक वन समुहको आवास गृहमा राखिएको छ ।

बैशाख १ गते पहिलो दिन ४४ जना मात्र थिए । हिजो शनिबार साँझसम्म भने सडकबाट उद्दार गरिएकाहरुको संख्या ८२ जना पुगिसकेको छ । ती मध्ये २० जना महिला र ६ जना बालबालिका उमेर समुहका छन् । सडकमा मनमौजी जीवन बिताइरहेकाहरुलाई घरमा सिमित राख्न पक्कै पनि सहज छैन । महिला र पुरुषलाई २ वटा अलगअलग कोठामा राखिएको छ । सडकमा ज्यादै फोहोरी, दुर्घन्ध फैलिने गरि बसेकाहरुलाई पनि यहाँ ल्याएर सरसफाई गरी चिटिक्क पारिएको छ । नयाँ कपडा लगाउन दिइएको छ । कपाल काटिदिइएको छ ।

खान, बस्न र स्वास्थ्य जाँचमा मात्र होइन, आवास गृहमा राखिएकाहरुको मनोरञ्जनमा पनि बिशेष ध्यान दिइएको धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीले बताइन् । उनका अनुसार प्रोजक्टरमार्फत फिल्म हेराउने र योगा गराउने पनि व्यवस्था गरिएको छ । यस्तै, क्यारम बोर्ड, लुडोलगायत खेल सामग्रीहरुको पनि व्यवस्था गरिएको छ भने गीत, संगीत र वन समुहको चौरी सफा गराउने काममा उनीहरुलाई भुलाउने काम भइरहेको पनि बताइन् ।

उनीहरुलाई पछिल्लो पटक हिन्दी फिल्म गब्बर हेराइएको थियो भने ओशो आश्रमबाट आनन्द श्रेष्ठले योगा गराएका थिए । फिल्म हेर्दा पाउदा र योगा गर्दा धेरै रमाइलो भएको त्यहाँ रहेकाहरुले बताए । आवास गृहमा बिहान र बेलुकी खाना खुवाइन्छ भने बिहान खाना अघि र दिउँसो खाजाको पनि व्यवस्था गरिएको छ । बिहानको खाना होप नेपालले खुवाउदै आएको छ । बेलुकी भने धरान उपमहानगरपालिकाले खुवाउछ । त्यहाँ रहेकाहरुको शारीरिक, मानसिक अवस्था हेरेर वीपी प्रतिष्ठानका चिकित्सकहरुबाट मानसिक तथा स्वास्थ्य जाँच पनि गराइएको छ ।

langhali-film1