धरान: साउदी अरबबाट आएका एक युवामा कोरोना पोजेटिभ देखिए पछि भोजपुरको हतुवागढी गाउँपालिकाका जनप्रतिनिधिहरु तनावमा परेका छन् ।

कोरोना संक्रमित भेटिनु त्यसै पनि चिन्ताको बिषय हो, तर त्यति मात्र त्यहाँ जनप्रतिनिधिलाई चिन्तित बनाउने बिषय होइन । ती युवा साउदीबाट आएदेखि क्वारेन्टाइनमा बसेका थिएनन् । उनी भलिवल खेलाडी पनि हुन् । त्यसैले भलिवल खेल्न गाउँभरि डुल्ने गर्थे । उनको ससुराली घर उदयपुरको मैनामैनी हो । उनी त्यहाँ पनि पुगेको खुलेको छ । ‘हामी त एकदमै तनावमा छौं,’गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष कुमार विष्टले भने,‘क्वारेन्टाइनमा नै थिएनन् । भलिवल खेल्न गाउँभरि डुल्ने रहेछ । घोडेटार बजार पनि गएको, उदयपुरको मैनामैनी पनि पुगेको रहेछ ।’

प्रवक्ता एवं वडाअध्यक्ष विष्टले भोली शुक्रबार बिहान बैठक बसेर ती युवा घुमेको सबै क्षेत्रलाई सिल गर्नेबारे छलफल हुने बताए । ‘भोली बिहान गाउँपालिकाको बैठक बसेर उ कहाँ कहाँ पुगेको छ, ती सबै क्षेत्र, टोल सिल गछौं,’उनले भने । ती युवा हाल प्राथमिक स्वास्थ्य केन्द्रमा क्वारेन्टाइनमा छन् ।
उनको आरडिटी परीक्षण २ पटक गर्दा पनि पोजेटिभ आएको थियो । त्यसपछि उनको स्वाब पिसिआर जाँच गर्न हिजो धरान ल्याइएको थियो । प्रवक्ता विष्टका अनुसार ती युवाको आमा, भाई र बाइकमा सँगै हिड्ने अर्का एक व्यक्तिको आरडिटी परीक्षण भने नेगेटिभ आएको थियो । यस्तै, मैनामनीमा उनको श्रीमतिको पनि आरडिटी जाँच गर्दा नेगेटिभ आएको उनले जानकारी दिए । ती युवा ४३ दिन अघि साउदीबाट भोजपुर आएका हुन् ।