धरान: शुक्रबार दिउँसो करिब ३ बजेतिर धरान ८ स्थित लांघाली सामुदायिक वनको आवास गृह बाहिर सडक मानवहरुको चहलपहल थियो । उनीहरुको खाजाको समय भएकोले कोही लामवद्ध थिए भने कोही हातमा चियाको गिलास, बिस्कुट लिएर बसिरहेका थिए ।

ठिक त्यसैबेला तीन वटा गाडी लस्करै वन समुहको हाताभित्र प्रवेश गर्यो । ती गाडीमा थिए, धरानका मेयर, उपमेयर र राजनीतिक दलका नेताहरु । सर्वदलीय यो टोली बैठक सकेर खानेपानी आयोजनाको अनुगमन गर्न निस्केको थियो । खानेपानीको बोरिङस्थल निरीक्षण गरेर फर्कने क्रममा मेयर तिलक राईले सर्वदलीय टोलीलाई उद्दार गरिएका सडक मानवहरुलाई कसरी राखिएको छ भनेर अवलोकन गराउन लगेका थिए । लकडाउनको समयमा घरभित्रै रहनुपर्ने भएपनि थुप्रै सडक मानवहरु धरानको भानुचोक र विभिन्न सडक क्षेत्रमा थिए । उनीहरुलाई संक्रमणको जोखिमबाट जोगाउन उद्दार गरेर उपमहानगरपालिकाले लांघाली वनको आवास गृहमा राखेको छ । अहिले कुल संख्या ९८ जना पुगेको छ ।

टोलीले त्यहाँको अवस्थाबारे जानकारी मात्र लिएन, मेयर राईले शुभम स्विट्स एण्ड बेकरीबाट दिउँसोको खाजाकोरुपमा वन पाउरोटी नियमित आउने जानकारी पनि दिए । साथै, सबैलाई एक एक वटा पुग्ने वन पाउरोटी पनि दिइएको थियो । सडक मानवहरुलाई व्यवस्थापन गर्न महत्वपुर्ण सहयोग गरिरहेको होप धरानका अध्यक्ष निश्चल पलिखेका अनुसार बिहान ८ बजे र दिउँसो ३ बजे खाजा खुवाइन्छ । बिहानको खाजा र बेलुकीको खाना उपमहानगरपालिकाले खुवाउछ भने बिहानको खाना र दिउँसोको खाजा होप धरानले खुवाउने गरेको छ ।

langhali langhali1 langhali3 langhali2