धरान: भानुचोक तथा सडकमै बसिरहेका व्यक्तिहरुलाई राख्नको लागि धरान ८ स्थित लांघाली सामुदायिक वन उपभोक्ता समुहको आवास गृह तयार पारिएको छ ।

सडकमा खाने र बस्ने व्यक्तिहरुलाई कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट जोगाउन धरान उपमहानगरपालिकाले लांघाली वन समुहको आवास गृहमा राख्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार वन समुहको आवास गृहमा २५ थान बेड तयार गरिएको हो । ८ नम्बर वडा कार्यालय र वन समुह तथा मारवाडी सेवा समितिको सहकार्यमा सडक मानवहरुलाई लांघालीको आवास गृहमा राख्ने तयारी भएको हो ।

मारवाडी सेवा समितिले बस्नको लागि २५ थान मेट्रेस, ओढ्ने र ओछ्याउने २५ थान कपडा, सिरानी २० थान उपलब्ध गराएको छ । यस्तै, टिसर्ट ५४ थान, ट्राउजर २० थान पनि उपलब्ध गराएकोछ । मारवाडी सेवा समितिका अध्यक्ष अनिल अग्रवालसहितको टोलीले वडा कार्यालयका सदस्य एवं अनुगमन समितिका संयोजक राम थापा मगरलाई ती कपडा हस्तान्तरण गरेका थिए ।

 हाललाई २५ थान मेट्रेससहित ओढ्ने ओछ्याउने र लगाउने एकसरो कपडा उपलब्ध गराएको अध्यक्ष अग्रवालले बताए । आवश्यकता अनुसार थप कपडा एवं सामग्री समितिले उपलब्ध गराउने उनले बताए । ‘५० जनालाई ट्रयाक सुट पनि दिएका छौं । उपमहानगरपालिकाको आग्रहमा मेट, तन्ना, तकिया र ओढ्ने च्यादर दियौं,’अध्यक्ष अग्रवालले भने ।

वडा कार्यालयका सदस्य एवं सडक मानव व्यवस्थापन गर्न बनेको अनुगमन समितिका संयोजक राम थापा मगरले लकडाउन अवधिभर सडकमा बसिरहेकाहरुलाई लांघाली वनको आवास गृहमा ल्याएर राखिने बताए । ‘मारवाडी सेवा समितिको सहयोगमा बेड तयार भयो, अब खाना खुवाउने व्यवस्था आइतबारभित्र टुंगो लागेपछि सम्भवतः सोमबारदेखि ल्याएर राखिन्छ,’मगरले भने,‘घरबार बिहिन भएर सडकमा बसिरहेकाहरुलाई संक्रमण हुन नदिन लकडाउन भरि यहाँ ल्याएर राख्ने हो । पछि बालबच्चालाई बालआश्रममा र वृद्धवृद्धाहरुलाई पनि आश्रममा नै लगेर राखिन्छ ।’

langhali2
langhali6 langhali4 langhali8 langhali3 langhali5