इटहरीः मुलुक लकडाउनमा पुुगेको एक महिना नाघ्यो । बजार पसल सुनसान छ भने मानवीय आवाजजावत प्रायः ठप्पै छ ।

यस्तो अवस्थामा मानिसलाई मात्र होइन, अन्य जनावरलाई समेत प्राण धान्न हम्मेहम्मे छ । सुनसरीको इटहरीमा रहेका करिव ६० सामुदायिक कुकुर अहिले खान नपाएर मर्नथालेका छन् । केही सामाजिक अभियन्ताहरुले यी कुकुरको विजोक देखेपछि दिनमा एक पटक खाना खुवाउने गरेका छन् । यो कार्यको शुरुवात गरेकी थिइन्, अभियन्ता समिता कार्कीले ।

घर छेउछाउका कुकुर भोकले मर्न थालेको देखेपछि उनले साथीहरुसँग सल्लाह गरिन् र कुकुरलाई एक छाक खाना खुवाउन थालिन् । इटहरी नगर भरीका कुकुर भोकै रहेको बुझेपछि भने अहिले साँझमा खाना खुवाउन थालिएको छ । सहयोग जुट्दै गएपछि उनीहरुलाई केही सजिलो भएको छ । ‘यिनीहरु पनि हामीजस्तै हुन्, भोकले छटपटाइ रहेको देख्द सकिएन,’ अभियानकर्मी समिताले भनिन्, ‘सटर, पसल बन्द हुँदा कसैले खाना दिदैन, यिनीहरुलाई पनि बाँच्ने हक छ भनेर हामीले बेलुका खाना खुवाउन थालेका हौँ ।’

dog

यही कार्यमा सहभागी छन् विभिन्न नेपाली चलचित्रमा अभियन गरिसकेका कलाकार माधव केसी । उनी भेटनरी चिकित्सक पनि हुन् । कुकुरको स्वास्थ्यको बारेमा जानकारी राख्ने उनी समुदायमा वेवारिसे वा घाइते कुकुर भेट्यो कि उपचार गर्न दगुरीहाल्छन् । ‘आफ्नै हातले खान नपाएर मरेको कुकुर फालेपछि साथीहरुको समुह बनाएर हरेक दिन साँझमा खाना बनाउने कार्यमा सहाभागी भएको हुँ,’उनले भने ।

dog2

शुरुमा आँफैले खाद्यान्न र मासु जुटाएका युवाहरुको समुहलाई अहिले केही मनकारीले सहयोग गर्ने गरेका छन् । कुकुरलाई खाना खुवाएको देख्दा धेरैले गाली गर्ने गरेको उनीहरुको दुखेसो छ । अर्का युवा जीतेन्द्र थापाले लकडाउनभरी सडकमा वेवारिसे अवस्थाका कुकुरलाई एक छाक खुवाउने बताए । ‘पृथ्वी मानिसको मात्र होइन, सबै प्राणीको साझा घर हो भन्ने बुुझाइले आफुु जस्तै सास फेर्ने प्राणी मर्न लागेको देख्दा उनिहरुको उद्दार गरेका हौँ,’थापाले भने ।