धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले लकडाउनको कारण बन्द भएको ओपिडी सेवा सुचारु गर्ने तयारी गरेको छ ।

लकडाउन कहिलेसम्म जारी रहने भन्ने टुंगो नभएको र प्रतिष्ठानको मुख्य आम्दानीको स्रोत पनि गुमेपछि ओपिडी सेवा सुचारु गर्ने तयारी भएको हो । प्रतिष्ठानले यसबिषयमा २ चरणमा छलफल गरिसकेको छ भने भोली(आइतबार) बिहान पुनः छलफल गरेर निर्णय लिइने उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले जानकारी दिए । ‘२ राउण्ड कुरा भैसकेको छ, भोली बिहान फेरि छलफल गछौं,’उपकुलपति डा.गिरीले मोवाइल सम्पर्कमा भने । भोलीदेखि नै ओपिडी सेवा सुचारु हुने चर्चा चलेपनि उनले भने अहिल्यै प्रष्ट भइनसकेको बताए ।

कसरी सुचारु हुन्छ ओपिडी ?

bpkihs 1

लकडाउन जारी नै छ भने कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ । यस्तो बेला मानिसहरुको चाप हुने वीपी प्रतिष्ठानको ओपिडी सेवा कसरी खुल्छ ? प्रतिष्ठानका उपकुलपति डा.गिरी भन्छन्,‘विरामीको चाप के कस्तो हुन्छ, त्यो हेरेर क्रमिकरुपमा समय बढाउदै लैजान्छौं ।’ उनका अनुसार शुरुमा थोरै समयको लागि ओपिडी सुचारु हुन्छ । लकडाउन पनि भएकोले विगतमा जस्तो विरामीको चाप धेरै नहुने अनुमान छ । अस्पतालमा सेवा लिन आउने विरामीहरुलाई पनि पुर्ण सुरक्षा भएर आउन मात्र दिइनेछ । ओपिडी मात्र नभएर अस्पताल सेवासँग जोडिएका सबै सेवाहरु सुचारु गर्ने तयारी रहेको उपकुलपति डा.गिरीले बताए ।

'आर्थिकरुपमा धरासायी हुनबाट जोगाउनुपर्ने चुनौती'

bp-vc 1

लकडाउनमा पनि ओपिडी सेवा सुचारु गर्नुमा प्रतिष्ठानलाई आर्थिकरुपमा धरासायी हुनबाट जोगाउने चुनौती मुख्य कारण हो । प्रतिष्ठानको प्रमुख आम्दानीको स्रोत ओपिडी सेवा हो । वीपी प्रतिष्ठानलाई सरकारले अस्पताल सञ्चालन खर्च दिदैन । यहाँको भौतिक संरचना निर्माणमा मात्र बजेट उपलब्ध गराउने भएकोले चिकित्सक, कर्मचारी र सञ्चालन खर्च आफै जुटाउनुपर्ने हुन्छ ।

करिब २ महिनादेखी जारी लकडाउनले प्रतिष्ठानले दैनिक लाखौं रुपैया गमाइरहेको छ । उपकुलपति डा.गिरीका अनुसार दैनिक कम्तीमा ३० लाख आम्दानी गुमिरहेको छ । लकडाउन यताको हिसाब गर्ने हो भने करिब २ करोड नोक्सानी भइरहेको छ । ‘संस्थालाई आर्थिकरुपमा धरासायी बनाउनबाट जोगाउने चुनौती छ । कर्मचारीहरुलाई तलब खुवाउनुपर्ने छ, म लकडाउनकै बीचमा नियुक्ती भएर आएको हुँ,’उनले भने,‘यी सबै कुराहरु मध्यनजर गर्दै ओपिडी शुरु गर्नेबारे छलफल भइरहेको छ ।’